२०८३ भाद्र ११ गते बिहिवार

महिला फुटबल : नेपालले गुमाएको ‘इतिहास रच्ने’ अवसर

बीबीसी । यस्तो कहानी धेरै पटक दोहोरिसक्यो, सफलताको नजिक पुगेर अन्तिम समयमा चुक्दा हुने पीडा नेपाली महिला खेलाडीहरूले दर्जन पटक खपिसके । उज्वेकिस्तानको मिल्ली रङ्गशालामा शनिवार राति उज्वेकिस्तानविरुद्ध भोग्नु परेको पराजय भने अझ बढी पीडादायी बन्न पुगेको छ । यसले नेपालको एएफसी एसियन कपमा छनोट हुने ढोका बन्द भयो । त्यतिमात्र होइन, महिला टोलीले फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को छनोटको यात्रा पनि गुमाउन पुगेको छ ।

३–१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३–३ को प्रतिस्पर्धात्मक बराबरीमा पु¥याएको खेल ’टाइब्रेकर’ मा पुगेर गुम्दा म्याचपछि खेलाडीहरू निकै भावुक देखिएका थिए । छिमेकी भारत हिजै एसियन कपमा छनोट भयो। दुई दिनअघि बाङ्ग्लादेशले इतिहास रच्दै अस्ट्रेलियाको टिकट काटिसकेको थियो। नेपालले भने टाइब्रेकरमा ४–२ ले पराजित हुँदै यात्रा टुङग्याएको छ ।

हुन त उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न पुगेको नेपाली टोलीको लागि यात्रा सहज थिएन । ५१ औं स्थानको टोली विरुद्ध १०० औं स्थानको नेपालले क्षमता बढी प्रदर्शन गर्न जरुरी थियो । बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले भर्खरै मात्र नेपाली टोली सम्हालेका थिए । यस्तो अवस्थामा टोलीको टिमवर्क अत्यन्त बलियो हुनुपर्नेमा टोलीभित्र भने ’कसलाई कप्तान बनाउने’ भन्ने जस्ता विषयमा मनमुटाव देखिएको थियो । आन्तरिक विवाद बाहिरसम्म छरपस्ट भएको थियो, यद्यपि महिला खेलाडीहरू भने एकताबद्ध देखिएका थिए ।

प्रशिक्षक वाइल्ड आएपछि टोलीमा देखिएको जाँगर, उनले टोलीको संरचनामा गरेको परिवर्तन र मैदानमा देखिएको त्यसको असरले उज्वेकिस्तानमा खेलाडीहरूले एकपछि अर्को राम्रो नतिजा निकालेका थिए । लाओससँग ९–० र श्रीलंकाविरुद्ध ८–० को जित त्यसकै परिणाम थियो । निर्णायक खेलमा पनि टोलीले नेपाली समर्थकलाई निराश नपार्ने गजबको खेल प्रस्तुत ग¥यो । प्रशिक्षक वाइल्डले भने, “नेपाली टोली अहिले फरक छ । यसले आगामी दिनमा अझ राम्रो फुटबल खेल्नेछ ।”

हुन पनि मिल्ली रङ्गशालामा नेपाली टोलीले पहिलो हाफमा ३–१ ले पछि परेको खेलमा पुनरागमन जनाएको थियो । सुरुआतमा भने नेपाली टोली सम्हालिन सकेनन्। ५१ औं स्थानको उज्वेकिस्तानका खेलाडीहरू शारीरिक दबावसहित नेपालमाथि हाबी भएका थिए । सुरुआतको दोस्रो मिनेटमा डिफेन्डर गीता रानाले क्लियर गरेको बल विपक्षीको खुट्टामा पर्दा गोल हुन पुगेको थियो । दोस्रो गोल समिक्षा घिमिरेको ‘डिफ्लेक्ट’ मा हुन गयो भने सरस्वती हमालले डि–बक्सभित्र ह्यान्ड हुंदा पेनाल्टीमा तेस्रो गोल हुन पुगेको थियो ।

नेपाली टोलीले त्यसको दह्रिलो जबाफ दियो। सावित्रा भण्डारीले पहिलो हाफमा उत्कृष्ट गोल गर्दै खेलमा फर्किने सङ्केत गरेकी थिइन । पहिलो हाफको अन्तिम समयमा उज्वेकिस्तानकी खेलाडी नोजिमाखोन इर्गासेबा दुई पहेँलोसहित रातो कार्ड खाएर बाहिरिएपछि दोस्रो हाफमा नेपाली खेलाडीहरूले त्यसको फाइदा उठाए । सावित्राले दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिकसहित खेललाई टाइब्रेकरसम्म पु¥याउन कप्तानी भूमिका निभाइन् ।

जित, अंक र गोल सङ्ख्या सबै समान भएपछि खेल टाइब्रेकरतिर धकेलियो। यहाँसम्मको कथा नै नेपालको लागि बहादुरीको नमूना बन्यो । उज्वेकिस्तान टाइब्रेकरसम्मको बलियो तयारीमा आएको देखियो । उनीहरुले प्रहार गरेको चारवटै पेनाल्टी गोलमा परिणत हुन पुग्यो । नेपाली कप्तान सावित्राको पहिलो प्रहार बारमा लागेर फर्किनु नै नेपालको दुर्भाग्यको सङ्केत थियो। गोलकिपर अन्जना रानामगरले गरेको चौथो प्रहार विपक्षी गोलकिपरले सहजै रोकेपछि नेपालको हारको अर्को कथा थपियो ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया