२०८३ भाद्र ११ गते बिहिवार

राष्ट्रिय विपत्तिमा सहयोग गर्ने सल्यानकी पहिलो जनप्रतिनिधि बनिन् छत्रेश्वरी उपाध्यक्ष खत्री

सल्यान ११ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ हजार सहयोग गर्नुभएको छ।

 

उपाध्यक्ष खत्रीले बुधबार राति आफ्नो फेसबुक पेज ‘बुद्धा के.सी.’ मार्फत रु. ११ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराउनुभएको हो। उहाँले राष्ट्रिय विपत्तिका बेला सहयोग गर्ने सल्यानको पहिलो जनप्रतिनिधिका रूपमा मानवीय पहल गर्नुभएको छ। उहाँले रसुवामा भएको विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।  साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

 

प्राकृतिक विपद्को यस कठिन समयमा सरकार र नागरिक एकसाथ उभिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष खत्रीले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन सबैलाई आ–आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गर्नसमेत आह्वान गर्नुभएको छ। राष्ट्रिय विपत्तिको समयमा जनप्रतिनिधिबाट गरिएको यस्तो सहयोगले पीडित नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारी, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया