बीबीसी, १५ साउन । पछिल्ला विवरणहरू अनुसार नेपालले लिएको जम्मा १७ खर्ब ऋणमध्ये आधाभन्दा बढी वैदेशिक ऋण छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो विवरण अनुसार नेपालको वैदेशिक ऋण रु ९ खर्ब १५ अर्ब ९३ करोड रुपैयाँ बराबर छ । कार्यालयले यस्तो ऋणको विवरण अद्यावधिक भइरहेको र यो सङ्ख्या थपघट हुनसक्ने जनाएको छ
नेपाल सरकारले लिएको वैदेशिक ऋण बापत साँवा र ब्याज गरी गत आर्थिक वर्षमा सरकारले रु ३६ अर्ब ९५ करोड रकम भुक्तानी गरेको थियो। गत वर्ष रु २३ अर्ब साँवा मात्र भुक्तानी गरिएको उक्त कार्यालयले जनाएको छ। सरकारले लिएको ऋणका साँवा ब्याज भुक्तानी लगायतका व्यवहारका लागि चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ३० अर्ब रुपैयाँ वित्तीय व्यवस्थाअन्तर्गत विनियोजन गरिएको छ।
तर सरकारले विनियोजन गरेको यो सबै रकम वैदेशिक र आन्तरिक ऋण तिर्न मात्रै नभएर घाटामा रहेका आयल निगम जस्ता संस्थाहरूका ऋण उपलब्ध गराउन पनि प्रयोग हुने अधिकारीहरू बताउँछन्।
नेपालले कहाँ कहाँबाट ऋण लिएको छ ?
अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो विवरण अनुसार नेपालले २३ वटा विदेशी दाता वा दातृ निकायबाट ऋण लिएको छ । नेपालले लिएको सबै ऋण सहुलियतपूर्ण कर्जा भएकाले तिर्नुपर्ने ब्याजदर पनि कम छ । नेपालका सबैभन्दा ठूला ऋण दाताहरू विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क हुन् । यी दुई वटा ब्याङ्कले नेपालको वैदेशिक ऋणको ८० प्रतिशत हिस्सा ओगटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी हिरा न्यौपानेले जानकारी दिनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाहेक विभिन्न आठ वटा देशसँग सरकारी स्तरमा गरिएका सम्झौताका आधारमा पनि ऋण लिएको छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार नेपाललाई सबैभन्दा धेरै ऋण उपलब्ध गराउने देश जापान हो । जापानले उसको अन्तर्राष्ट्रिय सहयोग निकाय जाईकामार्फत् ऋण उपलब्ध गराउने गरेको छ ।
नेपालको अर्थतन्त्र ’दबावमा’; सरकारको सोच के छ
जापानपछि सबैभन्दा धेरै ऋण उपलब्ध गराउने मुलुक भारत हो भने तेस्रो ठूलो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने देश चीन रहेको छ । त्यसबाहेक दक्षिण कोरिया, साउदी अरेबिया, कुवेत, बेल्जियम, फ्रान्स र संयुक्त अरब एमिरेट्सले सरकारी स्तरमा नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराएका छन् ।
शून्य ब्याजमा समेत ऋण
नेपालले कतिपय देश र दातृ निकायबाट निर्ब्याजी ऋणसमेत पाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष र बेल्जियमले नेपाललाई ब्याज तिर्नु नपर्नेगरी ऋण दिएका छन् । श्रीलङ्का गायत कतिपय देशहरूले चीनबाट उच्च ब्याजदरमा ऋण लिएका भए पनि नेपालले चीनबाट लिएको ऋणको ब्याजदर तुलनात्मक रूपमा सस्तो छ।
एक्जिम ब्याङ्क अफ चाइनाबाट नेपालले लिएको ऋणको ब्याजदर दुई प्रतिशत भन्दा कम रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाउँछ । नेपालले सबैभन्दा महँगो ब्याजदरमा फ्रान्सबाट ऋण लिएको छ। फ्रान्सबाट नेपालले लिएको ऋणको ब्याजदर एकदेखि तीन प्रतिशतसम्म तोकिएको छ ।
नेपालले सबैभन्दा धेरै ऋण लिएको विश्व ब्याङ्कले शून्य दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण दिएको छ। दोस्रो ठूलो ऋण उपलब्ध गराउने एसियाली विकास ब्याङ्कको ब्याजदर एक देखि एक दशमलव पाँच प्रतिशतसम्म छ । नेपाललाई सबैभन्दा धेरै ऋण दिने गरेको देश जापानले पनि शून्य दशमलव एक देखि एक प्रतिशत मात्रै ब्याजदर लिने गरेको छ ।




