दाङ ११ वैशाख । प्रधान सेनापति ट्रफि-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेलअवधीभर तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरु आयोजना गरिएको थियो । प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी समेत जम्मा १४ वटा टिमहरु सहभागी थिए ।
समापन समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने क्रमश: श्री नं.१६ बाहिनी, श्री उपत्यका पृतना र श्री विशेष फौज बाहिनी तथा गणतर्फ प्रथम, द्वितिय र तृतीय हुने क्रमश: श्री जगदल गण, श्री पुरानो गोरख गण र श्री दुर्गाबक्स गणलाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । सो क्रममा प्रधान सेनापतिले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाल र नेपाली सेनाको ख्याती बढाउन सफल नेपाली सेनाका खेलाडीहरुलाई सम्मान पत्र तथा पुरस्कार प्रदान गर्नु भएको थियो । समारोहमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
समारोहमा पूर्व प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षेत्री (अ.प्रा.) ले ४२ कि.मि. र १० कि.मि. दौडतर्फ प्रथम हुने पुरुष एथ्लेटिक्स खेलाडीलाई अतिरथी श्री नीर शम्शेर ज.ब.रा. पुरस्कार कोषबाट नगद पुरस्कार प्रदान गर्नु भएको थियो भने पूर्व प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. (अ.प्रा.) ले पुरुषतर्फ राष्ट्रिय क्रिकेट टिमका खेलाडी बन्दोवस्ती कार्य सिपाही सोमपाल कामी र महिलातर्फ राष्ट्रिय बक्सिङ्ग टिमका खेलाडी प्युठ चन्द्रकला थापालाई महारथी गौरव शम्शेर ज.ब.रा. सर्वोत्कृष्ट ट्रफि प्रदान गर्नु भएको थियो ।
वि.सं. २०६५ सालबाट हरेक वर्ष संचालन हुँदै आईरहेको प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिताले नेपाली सेना भित्र रहेका खेलाडीहरुको प्रतिभा पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ । प्रकृति संरक्षणमा नेपाली सेनाको संलग्नता तथा दुर्लभ वन्यजन्तुको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिको प्रतिनिधित्व हुने गरी प्रधान सेनापति ट्रफि प्रतियोगिता-२०७९ को मस्कट एक सिङ्गे गैँडा रहेको थियो ।






