२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरमा भत्ता लिने स्मार्ट छोरीको संख्या बढ्दै 

तुलसीपुर १९ पुस ।  दाङको तुलसीपुर उपमहानगरपालिकामा भत्ता लिने स्मार्ट छोरीको संख्या झण्डै ८ सय पुगेको छ । हालसम्म भत्ता लिने स्मार्ट छोरीको संख्या ७ सय ७९ पुगेको महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुको बर्षमा एक सय ३४ जना, दोस्रो वर्षमा ४ सय ३२ र चालु आर्थिक वर्ष २०७९/०८०  साउन महिना देखि मंसिर सम्म पाँच महिनाकाे अवधिमा भत्ता लिने स्मार्ट छोरीको संख्या २ सय १३ जना पुगेको छ । आगामी असार सम्म यो संख्या बढ्ने बालबालिका शाखाले जनाएको छ ।

तीन वर्षलाई तुलना गर्दा भत्ता लिने स्मार्ट छोरीको संख्या बढ्दै गएको छ । पछिल्लो समय जनतामा पुगेको सूचना र जनचेतनाका कारण भत्ता लिनका लागि दर्ता हुन आउने  स्मार्ट छोरीको संख्या बढ्दै गएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उपमहानगरले स्मार्ट छोरी भत्ता २० वर्षसम्म उपलब्ध गराउने छ । बढ्दो बाल विवाहलाई न्यूनिकरण गर्नका लागि उपमहानगरले स्मार्ट छोरी बिहे वारी, बिस वर्ष पारीको कार्यक्रम लागु गरेको हो ।

२०७७ साउन १ गतेदेख सुरु भएको यो कार्यक्रममा दर्ता हुने बित्तिकै पहिलो महिना खातामा दुई हजार ४ सय र त्यसपछि प्रत्येक महिना २ सय रुपैयाँ उपमहानगरपालिकाकाले जम्मा गर्ने गरेको छ ।  सुरुको वर्ष २०७७ मा भने एक हजार २ सय रुपैयाँ  खातामा जम्मा गरेको थियो । भत्ता पाउनका लागि स्मार्ट छोरीले २० वर्ष पर्खिनु पर्ने छ । भत्ता पाउनका लागि आमा–बुवाको नागरिकता, बिहे दर्ता, बच्चाको जन्मदर्ता, अस्पतालमा जन्मेको प्रमाणपत्र र वडाको सिफारिस  आवश्यक पर्ने उपमहानगरले जनाएको छ ।। 

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया