२०८३ जेष्ठ २५ गते सोमवार

 कस्तो मानसिकता हो ? 

तुलसीपुर २१ कार्तिक ।  वास्तवमा जसले गाउँसमाज र राष्ट्रको लागी एक पैसा खर्च गर्दैन, जसले आफनो घर परिवारको सुख, सयल,धनसम्पत्ती कमाउनका लागी चाहे विदेश होस वा घर बाहिर गएर रातदिन नभनी काम गरेको छ, जसले समाजको लागी एक दिन समय दिन सक्दैन, यदि एक दिन समय समाजको लागी दियो भने जसले आफ्नो सर्वस्व घाटा लागेको ठान्दछ । अथवा मेरो काम हरायो भनेर पछुताउँछ, जसले सामाजिक र राजनीतिक रुपमा कुनै समुह संघसंगठन नेतृत्व गर है भन्दा फुर्सद छैन, कमाउन जानुछ, अथवा घरको काम छ भनेर जतिबेला पनि घरको काम र आफ्नै परिवारको निम्ति पैसा कमाउन अथवा समय खर्च गरी रमाउन मरिहत्ते गर्छन ।

हुनत मैले कसैलाई पनि घरको काम, घरपरिवारको लागी धनसम्पत्ति कमाउनै हुदैन,अर्थात समाजको लागी सबैले केही काम गर्नै पर्छ पनि भन्न खोजेको होइन । यसको मतलब मैले कसै प्रति नकारात्मक दृष्टिकोण राख्न खोजेको होइन । आफ्नो काम पनि गर अनि समाजको लागी पनि केही समय खर्च वा योगदान पनि गर भन्न खोजेको हो ।  तर जसले समाज र विकासको लागी केही त्याग गर्न सक्दैन वा गरेको छैन । त्यस्ता मानिसले जसले व्यक्तिगत कामलाई त्यागेर समाज र राष्ट्रको निम्ति सँधै केही गर्छु भनेर आफ्नो समय र शक्ति समाजको लागी खर्च गरेको छ, त्यस्ता मानिस वा नेतृत्वकर्ताको विरोध गरेको प्रति मेरो असहमति हो । अर्थात यसैमा मेरो प्रश्न हो ? यदि कसैको विरोध गछौँ भने उसलाई आवश्यक सहयोग पनि गर्नु हामी सबैको कर्तव्य हो ।

यसमा कुनै दुईमत छैन । यत्तिले मात्रै पुग्दैन ती व्यक्तिहरूलाई सम्मान, हौसला प्रदान र प्रशंसा पनि गर ,चित्त नबुझे सल्लाह देउ, गुनासो गर । तर सँधै एकोहोरो नकारात्मक टिप्पणी र गाली नगर । उँ तिम्रो कुनै दुस्मन होइन, सत्रु पनि होइन ।   जसले हामी, हाम्रो समाज र राष्ट्र बदल्नका लागी सकारात्मक केही काम गरेको छ वा गर्ने प्रयास गरेको छ भने यसको योगदानलाई कदर गर्नुको साटो उल्टै सधै विरोध गर्ने, अवरोध गर्ने, आलोचना गर्ने यो कस्तो मानसिकता हो ? सधै अर्काको विरोध गरेर कहिल्यै विकास र समृद्धि आँउदैन । कुनै विषयमा चित्त बुझ्दैन भने छलफल गर्न सकिन्छ, निचोड निकाल्न सकिन्छ मुलुकमा झन्डै तिन करोड नेपाली नागरिक छन् ।

हामी सबै नेपाली नागरिकलाई संविधानले बोल्न पाउने, विरोध गर्न पाउने, लगायतका मौलिक हक दिएको छ भने नागरिकको कर्तव्य र दायित्व पनि उत्तिकै छ । तर अधिकार सँगसँगै दायित्व र कर्तव्यलाई पनि भुल्नु हुदैन ।  यदि तिमी पढेलेखेका छौ, बुद्धिजीवी छौ, ज्ञानी छौ, मानवता इमानदारिता छ अर्थात समाज बनाउने , राष्ट्र बनाउने यावत सकारात्मक लक्ष्य र उद्देश्य राख्छौ भने अब सोच बदल । मुखले बोलेर अनि मनले सम्झेर मात्रै हुदैन अब तिमिले व्यवहारमै लागु गरेर देखाउनु पर्छ । यी कुराहरु तिमि संग पनि छ भने आउ संगै हातेमालो गरौ, विकास र समृद्धिका लागी आउ तिमिले पनि केही योगदान गर, कति घरपरिवारको लागी मात्रै समय दिन्छौ, केही समय समाजका लागी देउ ।

कति अरुलाई गाली गरेर घर र समाज बाहिर बस्छौ ।  आउ घर अनि समाजमै केहि गर । जुन हामीले गरीरहेका छौ । हामीले हिजो पनि समाजका लागी केही ग¥यौ , भोली पनि यसरी गरी गर्नेछौ । तर तिमि जस्तो , जसले समाजका लागी नभई आफ्नो पारिवारिक विकास र समृद्धिका लागी देश,विदेशमा छौ । हुनत त्यो तिम्रो पारिवारिक बाध्यता होला । तिम्रा जस्तै बाध्यता हाम्रा पनि होलान तर पनि हामीले केही समय आफना लागी र केही समय समाजका लागी व्यवस्थापन गरेकै छौ ।

तिम्रा जस्तै सुखदुःख, संघर्ष, पिरचिन्ता हाम्रा पनि छन । त्यसकारण सबैभन्दा महत्वपुर्ण आफ्नो विचार र सोचाईमा भर पर्दछ । सँधै सकारात्मक सोच र विचारको भावनाले मात्रै घर समृद्धि, समाज समृद्धि र राष्ट्र समृद्धि बन्न सक्दछ । तर नकारात्मक सोच र विचारले नत घर बन्छ,नत समाज बन्छ ,नत देश बन्छ । त्यसैले विरोध होइन सहयोग गर्ने मानसिकताको विकास गर्न जरुरी छ । अनि मात्र विकास र समृद्धि आउँछ ।
            लेखक : लक्ष्मण विश्वकर्मा (लामो समय पत्रकारिता गर्नु भएका उहा हाल तुलसीपुर उपमहानगरपालिका कार्यापालिका सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया