२०८३ जेष्ठ २५ गते सोमवार

लुम्बिनी प्रदेशमा पाँच जना नयाँ मन्त्रीद्धारा शपथ ग्रहण

दाङ, २५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन सँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा -९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहनु भएको छ ।
तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया