२०८३ जेष्ठ ११ गते सोमवार

तुलसीपुर उपमहानगरले ३ सय विद्यार्थीलाई निःशुल्क पढाउने

तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने करिब ३ सय २० जना विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ। एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै उपमहानगरले पहिलोपटक छात्रवृत्ति परीक्षा आवेदन खुला गरेको हो। नगर शिक्षा समितिको निर्णय तथा संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा अनुगमन कार्यविधि, २०७५ अनुसार सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले जेठ ११ गतेदेखि जेठ २५ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत चक्रबहादुर भण्डारीका अनुसार छात्रवृत्ति परीक्षामा सफल हुने विद्यार्थीहरूले शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्ययनका लागि छनोट भएका संस्थागत विद्यालयहरूमा निःशुल्क अध्ययन गर्न पाउनेछन्। यस योजनाअन्तर्गत गोर्खा, ज्ञानज्योति, ग्रेट अरणिको, तुलसी बोर्डिङ, हिमाल एकेडेमी, डिभाइन टेम्पल, लिटिल हेभन, हाम्रो पहुँच, सृजना बालबाटिका र लिटिल फ्लावर लगायत १० वटा संस्थागत विद्यालयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ।

कानुनी व्यवस्थाअनुसार प्रत्येक विद्यालयले आफ्नो कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था रहेको छ। हाल यी विद्यालयहरूमा करिब ३ हजार २ सय विद्यार्थी अध्ययनरत रहेका छन्। उपमहानगरपालिकाले विद्यार्थी तथा अभिभावकलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित अनलाइन आवेदन दिन आग्रह गरेको छ। यो पहललाई तुलसीपुरमा शिक्षा क्षेत्रमा नयाँ अभ्यास र सकारात्मक हस्तक्षेप का रूपमा हेरिएको छ। तुलसीपुर नगर क्षेत्रमा देशका जुनसकै जिल्लाबाट पढ्न आएका विद्यार्थीले छात्रवृत्ती कोटामा पर्नका लागि परीक्षमा सामेलन हुन पाउने छन् तर स्थानीयलाई २ अंक बढी दिइने छ ।

इच्छुक विद्यार्थीले उपमहानगरपालिकाको वेबसाइट https://tulsipurmun.gov.np/ वा https://scholarship.tulsipurmun.gov.np/ मार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । छात्रवृत्ती कोटा मार्फत कक्षा ११ मा भर्ना भएका विद्यार्थीले कक्षा १२ उतिर्ण गर्दासम्म कुनै पनि शुल्क तिर्नुपर्दैन ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले यो कार्यक्रमले शैक्षिक न्याय र अवसरको समानता प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यार्थी छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी र प्रतिस्पर्धात्मक हुनेछ। योग्य विद्यार्थीले आफ्नो रुचिअनुसार विषय र विद्यालय छनोट गरी गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्।”

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्न यो कार्यक्रम महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका तर क्षमता भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नदिन यो छात्रवृत्ति कार्यक्रम सुरु गरिएको हो। यसले सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक अवसरको दूरी कम गर्ने विश्वास लिएका छौं।”

परीक्षा कस्तो हुनेछ ?

छात्रवृत्ति परीक्षा कक्षा १० का अनिवार्य विषयहरू (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक/सामान्य ज्ञान) मा आधारित हुनेछ।

  • ५० वटा बहुविकल्पीय प्रश्न
  • प्रत्येक प्रश्न २ अंकको
  • पूर्णाङ्क: १००
  • उत्तीर्ण हुन न्यूनतम ४० अंक आवश्यक
  • नेगेटिभ मार्किङ छैन
  • परीक्षा अवधि: १ घण्टा

तुलसीपुर उपमहानगरपालिकाका स्थायी बासिन्दालाई अतिरिक्त २ अंक स्वतः प्रदान गरिने विशेष व्यवस्था गरिएको छ।

आवेदन गर्दा के चाहिन्छ ?

✔ पासपोर्ट साइज फोटो
✔ जन्मदर्ता वा नागरिकता प्रमाणपत्र
✔ SEE को चारित्रिक प्रमाणपत्र वा ट्रान्सफर प्रमाणपत्र
✔ आवश्यक परे आरक्षणसम्बन्धी प्रमाणपत्रहरू

मोबाइलबाट फोटो खिचेर पनि कागजात अपलोड गर्न सकिनेछ।

आरक्षणमा विशेष अवसर

  • जेहेन्दार: ३७%
  • विपन्न: ३६%
  • आदिवासी जनजाति: १०%
  • दलित: ५%
  • अपाङ्गता भएका विद्यार्थी: ३%
  • शहीद/घाइते/बेपत्ता परिवारका सन्तति: ९%

प्रवेशपत्र कहिले पाइन्छ ?

जेठ २९ गतेपछि विद्यार्थीहरूले आफ्नो एडमिन कार्ड अनलाइनबाट डाउनलोड गर्न सक्नेछन्। परीक्षा केन्द्र र समय पनि सोही प्रवेशपत्रमा उल्लेख गरिनेछ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया