२०८३ जेष्ठ १८ गते सोमवार

छोराको स्कुल भेटाउन हिँडेका बाबुछोरा तुलसीपुरमा अस्ताए

फोटो फाईल

तुलसीपुर, १८ जेठ । दाङको तुलसीपुरमा विहानै सवारी दुर्घटना हुँदा विद्यालय पुर्‍याउन भन्दै बिहानै घरतर्फ फर्किएका बाबुछोराले गन्तव्यमा नपुग्दै उनीहरुको यात्रा सदाका लागि अस्ताएको छ। लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उहाकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली र पाँच वर्षीय छोरा मिनराज नेपाली विदाको अवसर पारेर केहि दिन अघि तुलसीपुर स्थित माईतीघरमा आएका थिए। उनका आफन्तीका अनुसार उनीहरू आइतबार नै घर फर्किने तयारीमा थिए।

हिजो वर्षाका कारण रोकिनु प¥यो । त्यसपछि भोलि बिहानै निस्किएर छोरालाई विद्यालय पुर्‍याउँला भन्दै उनीहरुले तुलसीपुरमै रात बिताए ।
तर सोमबार बिहानको त्यो यात्रा उनीहरूका लागि अन्तिम बन्न पुग्यो। प्रहरीका अनुसार बिहान करिब ६ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत गुल्मचोकमा रा १ ख २१९२ नम्बरको टिप्पर र रा ४ प ३३९० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। तुलसीपुर देखी लमही तर्फ जार्दै गरेको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा टिप्पर ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि नेपालगञ्ज लगिएको थियो। तर उपचारकै क्रममा मनोज नेपाली र उहाका पाँच वर्षीय छोरा मिनराज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अनुसा नेपालीको भने नेपालगन्जमा उपचार भइरहेको छ। एक दिनअघि घर फर्किन खोजेका उनीहरू वर्षाका कारण रोकिए।

तर भोलिपल्ट घर पुग्ने आशामा सुरु भएको यात्राले परिवारको खुसी नै खोसेर लग्यो। केही मिनेटको यात्रामै बाबुछोराले अकालमै ज्यान गुमाएपछि परिवारमाथि ठूलो शोक आइपरेको छ। यस घटनाले परिवारमाथि ठूलो बज्रपात परेको छ । कलिलो उमेरका बालक र उहाका बाबुको एकैसाथ मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीयवासी स्तब्ध बनेका छन्। सामाजिक सञ्जालमा समेत यो घटनाप्रति दुःख व्यक्त गर्नेहरूको संख्या बढिरहेको छ। एक सुखी परिवारको सपना क्षण भरमै चकनाचुर भएको भन्दै धेरैले भावुक प्रतिक्रिया जनाएका छन्। दुर्घटनामा संलग्न टिप्पर र चालक शान्तिनगर गाउँपालिका–५ निवासी ३९ वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया