तुलसीपुर, २९ जेठ । नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र संयुक्त राज्य अमेरिका, सेना प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन सहितको भ्रमणदलका सदस्यहरुले आज पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नु भएको छ ।
पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणका दौरान, श्री शान्ति कार्य निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्यसहित शूभारम्भ गरिएको उक्त कार्यक्रममा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थिति लगायत विविध पक्षको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए । साथै, अन्तरक्रियाका दौरान नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र उक्त भ्रमणदलका सदस्यहरुबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको थियो ।
उक्त भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको थियो । उक्त भ्रमणको दौरान, जनरल फ्लिन कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्नुका साथै वहाँले कलेज परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो ।






