नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

फाईल फोटो

काठमाण्डौ,१२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ ।

जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो । यस्तै १० वर्षअघिको जनगणनाअनुसार घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार
प्रतिक्रिया