तुलसीपुर १३ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। गएरातिदेखि निरन्तर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने विभिन्न नदी तथा खोलामा जलसतह बढ्ने र पहाडी क्षेत्रमा बाढीपहिरो जाने जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा समेत वर्षा जारी रहने सम्भावना रहेकाले नारायणी, बागमती, कमला, कन्काई र कोशीलगायतका नदीमा पानीको बहाव बढ्न सक्छ। लगातारको वर्षाले पहाडी तथा भिरालो भूभागमा पहिरो जाने, ढुंगा खस्ने र सडक भासिने जोखिमसमेत बढाएको छ। नदी किनारका सडकखण्डमा बाढी तथा कटानको खतरा पनि रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण साना तथा ठूला खोलानालामा पानीको बहाव बढ्दा सडक र कल्भर्टमा क्षति पुग्न सक्ने जोखिमसमेत औँल्याइएको छ। विशेषगरी नारायणगढ–मुग्लिन, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका साथै बागमती जलाधार क्षेत्रसँग जोडिएका सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्था आएमा सडकको अवस्था बुझेर मात्र निस्कन, जोखिमयुक्त स्थानमा सवारीसाधन नरोकी सावधानी अपनाउन तथा रातिको समयमा र अविरल वर्षा भइरहेका बेला सकेसम्म सवारी सञ्चालन नगर्न सुझाव दिइएको छ। त्यस्तै, पहिरो खस्न लागेको संकेत देखिए तत्काल सुरक्षित स्थानमा सर्न र जोखिमयुक्त नदी तथा खोलानालाको आसपास नजान पनि सचेत गराइएको छ।
सम्भावित विपद्बाट बच्न सम्बन्धित निकायले जारी गरेका सूचना तथा निर्देशन पालना गर्न र आपत्कालीन अवस्था सिर्जना भए तत्काल प्रहरी वा सम्बन्धित सरकारी निकायलाई खबर गर्न महाशाखाले सर्वसाधारणसँग आग्रह गरेको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।