काठमाडौं,१३ कात्तिक । सरकारले नागरिकता सेवा सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ नियमावलीअनुसार अब नेपाली नागरिकले नागरिकता लिएको जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन सक्नेछन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गर्नुपर्नेछ । सम्बन्धित विवरण प्रणालीमार्फत रुजु गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्नेछन् ।
नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ । यसअघि प्रतिलिपिका लागि नागरिकता जारी भएको जिल्लाकै प्रशासन कार्यालय पुग्नुपर्ने व्यवस्था थियो । त्यस्तै, विवाहअघि नागरिकता नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा विवाह दर्ता र पतिको नागरिकता पेस गर्नुपर्नेछ । पतिको मृत्यु भइसकेको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । यस्तो अवस्थामा पति वा ससुरालीका तोकिएका सदस्य तथा छोराछोरीमध्ये कम्तीमा एक जनाले उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ नियमावलीले नागरिकता वितरणको अभिलेख डिजिटल प्रणालीमा सुरक्षित राख्ने, निवेदकका विवरण तथा कागजात प्रणालीमा प्रविष्ट गर्ने र जिल्ला प्रशासन कार्यालयले मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था पनि गरेको छ । नागरिकता नम्बरलाई जिल्लागत तथा कार्यालयगत कोड, जारी वर्ष र क्रमसङ्ख्याका आधारमा व्यवस्थित गरिनेछ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।