२०८३ कार्तिक १३ गते शुक्रवार

इनम प्रकरणमा सर्वोच्चको फुलकोर्टमा सवा घण्टा छलफल, सोमबार पुनः बैठक बस्ने

फोटो फाईल

काठमाडौं १३ कार्तिक  । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयाललाई विवादास्पद व्यक्ति इनम सापकोटासँग जोडेर सञ्चारमाध्यममा आएका समाचारबारे सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा छलफल भएको छ । शुक्रबार बिहान बसेको फुलकोर्ट बैठकमा इनम सापकोटा प्रकरणपछि उत्पन्न परिस्थितिका विषयमा न्यायाधीशहरूले छलफल गरेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार बिहान सवा ९ बजे सुरु भएको बैठक साढे १० बजेसम्म चलेको थियो । करिब एक घण्टा १५ मिनेट चलेको बैठकमा समसामयिक विषयका रूपमा उठाइएको इनम सापकोटासँग न्यायाधीशहरूलाई जोडेर आएका समाचारले प्रमुख स्थान पाएको थियो ।

बैठकमा विषयले प्रवेश पाए पनि यसबारे थप छलफल आवश्यक रहेको भन्दै सोमबार पुनः फुलकोर्ट बैठक बोलाउने तयारी गरिएको स्रोतले जनाएको छ । यसअघि प्रधानन्यायाधीश शर्माले इनम सापकोटासँग जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत खण्डन गरेका थिए । त्यस्तै, न्यायाधीश हरि फुयालले पनि बिहीबार इनम सापकोटासँगको भेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्पष्टीकरण दिएका थिए ।

यस प्रकरणले न्यायालयको नेतृत्व र न्यायाधीशहरूलाई विवादमा तानेपछि नेपाल बार एसोसिएसनले समेत घटनाको निष्पक्ष छानबिन गर्न माग गरिसकेको छ । सोमबार बस्ने फुलकोर्ट बैठकलाई यस विषयमा थप छलफल र संस्थागत धारणा निर्माणका दृष्टिले चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।