तुलसीपुरमा विद्यार्थीहरुको सिकाई स्तर निराशाजनक

शारीरिक सजाय दिनेमा निजी विद्यालय अगाडी

तुलसीपुर, ९ फागुन । तुलसीपुरमा विद्यार्थीहरुको सिकाईको स्तर निराशाजनक देखिएको छ । कक्षा १–८ का विद्यार्थीहरुलाई कक्षा ३ सम्मको पाठ्यक्रम भित्रबाट आधारभूत साक्षरता र गणित प्रश्नहरुमा परीक्षण गर्दा पनि २९ प्रतिशत विद्यार्थीले मात्र नेपाली बोधका प्रश्नहरुको सही उत्तर दिन सकेका छन भने १२ प्रतिशत विद्यार्थीहरुले सामान्य अंग्रेजीको अनुच्छेद पढेर उत्तर दिन सकेका छन् । त्यसैगरी गणितमा जोड, घटाउ र भाग गर्न सक्ने विद्यार्थीको संख्या २० प्रतिशत रहेको छ ।

त्यसैगरी सार्वजनिक विद्यालयहरुमा कक्ष ८ मा अध्यन गर्ने करिब ५२ प्रतिशत विद्यार्थीहरुले नेपाली बोध प्रश्नहरुको सही जवाफ दिए । तर अंग्रेजीको ज्ञान भने निकै न्युन देखिएको छ । १० प्रतिशत भन्दा कम विद्यार्थीहरुले मात्र अंग्रेजीमा अनुच्छेद पढेर सहि उत्तर दिन सकेको देखिन्छ । त्यस्तैगरी १७ प्रतिशत विद्यार्थीले सामान्य भागका समस्याहरु समाधान गर्न सक्षम देखिन्छन् ।

सार्वजनिक विद्यालयका विद्यार्थीहरुको प्रदर्शन निकै कम्जोर देखिन्छ । यद्यपी निजी विद्यालयका विद्यार्थीहरुको प्रदर्शन पनि सन्तोषजनक देखिदैन । कक्षा ८ मा अध्यनरत ४८ प्रतिशत विद्यार्थीहरुलाई भागको हिसाव गर्न आउँदैन । ५७ प्रतिशत विद्यार्थीहरुले अंग्रेजी बोध प्रश्नहरुको जवाफ दिन सक्दैनन् र ३४ विद्यार्थीहरुले नेपालीमा सामान्य अनुच्छेद पढेर उत्तर दिन सक्दैनन् ।

उपमहानगरपालिकाको समन्वयमा टिच फर नेपालले एक महिना लगाएर २८ हजार ६६ जना विद्यार्थीको माझमा पुगेर गरिएको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । टिच फरले २०७६ भाद्र १ देखि भदौ ३० गतेसम्म सर्वेक्षण गरेको थियो । १२० जना स्वयंमसेवक परिचालन गरेको टिच फर नेपालले सामुदायिक ६८ र ७० वटा निजी विद्यालयमा पुगेर सर्वेक्षण गरिएको टिच फर नेपालका शिशिर खनालले जानकारी दिनुभयो ।
त्यसैगरी निजी भन्दा सामुदायिक विद्यालयमा अनुपस्थित हुने विद्यार्थीको संख्या पनि धेरै रहेको देखिन्छ । निजी विद्यायमा ९ प्रतिशत र सामुदायिक विद्यालयमा २७.५ प्रतिशत अनुपस्थित भएको देखिन्छ । त्यसैगरी निजी र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमा पनि निकै ठूलो अन्तर रहेको पाइएको छ । सर्वेक्षणका अनुसार निजी विद्यालयबाट कुल ३०.२९ प्रतिशत विद्यार्थीहरुले नेपाली बोधसंग सम्बन्धित प्रश्नहरुको उत्तर दिए भने सामुदायिक विद्यालयमा उक्त प्रतिशत २५.६८ प्रतिश रहेको छ ।

निजी र सामुदायिक विद्यालयको अन्तर प्ररम्भिक कक्षादेखिनै देखिने गरेको छ । निजी विद्यालयमा कक्षा १ मा पढ्ने कुल ६.६८ प्रतिशत विद्यार्थीहरु नेपालीको वर्णमाला पहिचान गर्न असक्षम रहे भने सामुदायिक विद्यालयमा सोही नेपालीको अक्षर पहिचान गर्न असक्षम विद्यार्थीको संख्या २८.२० प्रतिशत रहेको छ । यसैगरी अंग्रेजीमा २.२४ प्रतिशत कक्षा १ मा पढ्ने निजी विद्यालयका विद्यार्थीहरु अक्षर चिन्न असफल रहे भने उक्त प्रतिशत सामुदायिक विद्यालयमा ३७.१३ प्रतिशत रह्यो । यस्तैगरी गणितमा निजी तर्फ १.७५ प्रतिशत विद्यार्थीलाई सामान्य अंक पहिचान गर्न आएन भने सामुदायिक विद्यालयमा ३५.५८ प्रतिशत विद्यार्थीलाई सामान्य एक अंक पहिचा गर्न नआएको प्रतिवेदनमा उल्लेख छ ।

शारीरिक सजायमा निजी विद्यालय आगडी

शारीरिक सजायको अवस्था सामुदायिक विद्यालय भन्दा निजी विद्यालयमा बढी हुने गरेको पाइएको छ । शैक्षिक नीतिहरुमा घर र विद्यालय दुबैमा शारीरिक सजायलाई निरुत्साहित गरिएपनि व्यवहारमा त्यो लागु गरिएको छैन । सर्वेक्षणका अनुसार विद्यालयमा ६३ प्रतिशत र घरमा ४८ प्रतिशतले सजाय पाएको विद्यार्थीहरुले बताएका छन् ।

शारीरिक सजाय सामुदायिकमा ५३ प्रतिशत रहेको छ भने निजी विद्यालयमा ६८ प्रतिशले शारीरिक सजाय पाउने गरेका छन् । सर्वेक्षण अनुसार ५७ विद्यार्थी मध्य एउटा कम्प्युटर उपलब्ध छ भने ७० जना विद्यार्थीका लागि एउटा शौचालय उपलब्ध रहेको छ । यसले पठनपाठन र सिकाइ र स्वास्थ्यमा गम्भिर असर पु¥याउने सर्वेक्षणको निश्कर्ष छ । राष्ट्रिय मापदण्ड अनुसार ५० विद्यार्थी बराबर एक शौचालय हुनुपर्ने व्यवस्था छ ।
अब सुधारका यौजना अघि बढाऔछौ  नगर प्रमुख

तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा शिक्षाको यथार्त वस्तुस्थिती आएकाले अब सुधारका योजना अघि बढाउन सहज भएको बताउनुभयो । हालसम्मको शिक्षाको अवस्था कस्तो रहेछ भन्ने कुरा प्रतिवेदनले छर्लङग पारेको बताउँदै शिक्षामा गुणात्मक सुधार र परिवर्तन ल्याउन नीति बनाएर उपमहागनरपालिका अघि बढ्ने बताउनुभयो । ‘अहिलेसम्म गोलमोटल कुराहरु आइरहेका थिए । अभिभावकले पैसा तिरीरहने । तर नतिजा भने खराब आइरहने ,’ नगर प्रमुख पाण्डेले भन्नुभयो–‘अब हामी यसमा गम्भिरतापूर्वक लाग्छौ । फरक गरेर देखाउँछौ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया