२०८२ असोज २५ गते शनिवार

तुलसीपुरमा चोरी गर्दागर्दै एक युवक रङ्गेहात पक्राउ 

जेनजी आन्दोलनपछि बढ्दै चोरीका  घटना 

तुलसीपुर, १९ असोज ।  जेनजी आन्दोलनपछि तुलसीपुर क्षेत्रमा चोरीका घटनामा वृद्धि भएको स्थानीयले बताएका छन् । जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अगाडि खुलेयाम आगजनी तोडफोड र लुटपाट गरेपछि चोरहरुको मनोबल बढेको स्थानीयले बताएका छन् ।

तुलसीपुर उपमहागनरपालिकाको ६, ८, ९ र ३ नम्बर वडामा मात्रै ४३ वटा चोरीका घटना भएको स्थानीयहरुले बताएका छन् । गाउँघरमा खसी, बोका, कुखुरा, दार चोरी हुने गरेका छन् भने बजार क्षेत्रका घरहरूमा बाइक, गरगहना र पैसा चोरी हुने गरेका छन् । चोरीका घटना भएपनि अधिकांशले डरत्रासका कारण प्रहरीमा उजुरी नदिएको तुलसीपुर उपमहानगरपालिका –६ निवासी रोहित योगीले बताउनुभयो ।

“अधिकाँस चोरी गर्नेहरु गजेडीहरु छन् । कमाइ कजाई छैन । लागूपदार्थ खानुपर्‍यो । मिठो मिठो खाने कुरा खानु पर्यो । लगाउनु पर्यो । पैसा छैन । के गर्ने भन्दा खेरी चोरी गर्ने ।” योगीले भन्नुभयो । स्थानीयहरुका अनुसार अधिकांश चोरी गर्ने १८ देखि २६ वर्ष उमेर समूहका छन् । तुलसीपुरमा क्षेत्रमा दिनहुँजसो चोरी भएपनि प्रहरीमा उजुरी भने न्युन मात्रामा परेको छ । प्रहरीले कडा निगरानी नराखे अवस्था झनै भयावह हुने स्थानीयले चेतावनी दिएका छन् । 

यसैबीच प्रहरीले आज तुलसीपुर– ८ चन्द्रगंजमा दिपक वलीको घरमा पसेर चोरी गर्दै गर्दा रंगे हात एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तुलसीपुर –९ बेलुवा निवासी हेमराज परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले बताउनुभयो । घरमा ताला लगाएर काम विशेषले बाहिर गएका घर परिवार घर आउँदा ढोका खुल्लै रहेको देखेपछि ढोका लगाएर प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै पुगेको प्रहरीले परियारलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।  यस अघि टीकरीमा २ वटा घरबाट लाखौं मूल्यका सुनका गरगहना चोरी भएका थिए । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले शङ्कास्पद गतिविधि देखेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 

 

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया