२०८२ असोज २५ गते शनिवार

भौतिकतावादी युगमा अध्यात्मको मार्गले मात्र स्थायी शान्ति दिन्छ !

तुलसीपुर, २५ असोज । आजको वैज्ञानिक र भौतिकतावादी युगमा धर्म, दर्शन र अध्यात्मको मार्गले मात्र मानवीय समाजलाई स्थायी शान्ति दिन सक्ने एक कार्यत्रमका बक्ताहरुले बताएका छन् ।

नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले आयोजना गरेको वर्तमान समयमा आध्यात्मिक चिन्तको महत्व विषयक वृहत सत्संग समारोहलाई सम्बोधन गर्दै बक्ताहरुले वैदिक सनातन धर्म कुनै जात–पात, रीतिरिवाज वा परम्परामा मात्र सीमित नभई मानव जीवनको मूल दर्शन भएको बताएका थिए ।

कार्यक्रमका प्रमुख अथिति नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले धर्म भनेको अनुशासन, सत्य, अहिंसा र परोपकारको बाटो भएको बताउँदै यसले आत्मबल र सामाजिक एकता दुवैलाई सुदृढ बनाउने बताउनुभयो ।

“आजको युगमा मानिसले बाहिरी सुख खोज्दैछ, तर वास्तविक सुख त आत्मचिन्तन र आध्यात्मिक अभ्यासबाट मात्र प्राप्त हुन्छ,” अध्यक्ष केसीले भन्नुभयो “वेद, उपनिषद् र गीता जस्ता ग्रन्थहरू मानव सभ्यताका जीवनदर्शन हुन्, तिनलाई जीवनमा व्यवहारिक रूपमा उतार्न सके मात्रै समाजमा नैतिकता पुनस्र्थापित हुन सक्छ ।”

कार्यक्रममा अन्य बक्ताहरुले परिवार, विद्यालय र समुदायस्तरमा नैतिक शिक्षाको प्रसार गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल मानव धर्म सेवा समितिका राप्ती भेरी प्रचारिका महात्मा कान्ता बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा महात्मा बैरागीनी बाइजी, योग गुरु गोगेन्द्र शाह (दिपक) समितिका सल्लाहकार सुशिला मैनाली सापकोटा, रुकुम शाखा प्रतिनिधि चंक बहादुर विष्ट, गणेश केसी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल मानव धर्म सेवा समितिका संचार संयोजक प्रेमकुमारी मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया