राप्ती प्रादेशिक अस्पतालमा भोलीदेखि ओपिडी सेवा सुरु

तुलसीपुर, १६ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले भोली बुधबार बाट ओपिडी (बहिरंग) सेवा सुरु गर्ने भएको छ । अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि अस्पताल सिल गरेर सबै सेवा बन्द गरेको अस्पतालले सोमबार बेलुकी पाँच बजेदेखि आपतकालिन र प्रसुती सेवा सुरु गरेको थियो ।

मंगलबारसम्म अस्पतालमा कार्यरत चिकित्सक सहित ११ जनामा कोरोना पुष्टि भएपनि उनिहरुलाई आइसोलेसनमा राख्ने कामदेखि अस्पतालमा सेनिटाईजर छिट्ने र अन्य सबै कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ओपिडी सेवा सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । ओपिडी सुरु भएसंगै अघिपछिको जस्तै सामान्य बिरामीले पनि अस्पतालमा पुगेर उपचार सेवा र परामर्श लिन सक्ने अस्पतालले जनाएको छ ।

‘बिरामी कोरोना पोजेटिभ भएर आएपनि नेगेटिभ सम्झेर औषधि उपचार गर्नु पर्यो,’ निमित्त प्रमुख अधिकारीले भन्नुभयो– ‘पेशा नै यस्तो भएपछि के गर्ने । डराएर पनि भएन । सेवा दिनै पर्यो ।’

अस्पतालमा चिकित्सक, नर्स, अहेव, ल्याव टेक्निसियन सहित १ सय ५८ जना कर्मचारी कार्यरत रहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया