सल्यान , ८ मंसीर । वि.पी.कोइराला फाउन्डेसनको आयोजना एवं बागचौर नगरपालिका सल्यानको सहआयोजना तथा व्यवस्थापन र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको सहयोगमा यहि मंसीर १५ गते बागचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।जिल्लावासीलाई आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सक मार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो। शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले विभिन्न रोगको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्ने आयोजकले बताएको छ । शिविरमा जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, बालरोग, मनोरोग, हाडजोर्नी तथा नशारोग, युरो सर्जरी, छालारोग, नाक, कान तथा घाँटी, आँखारोग र दन्तरोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ। त्यसैगरी भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, ईसीजी र मुटुरोगसम्बन्धी इको परीक्षण समेत गरिने आयोजकले जनाएको छ।
शिविरमा परीक्षणपछि थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुरस्थित युनिट–२ अस्पतालमा औषधि, औषधिजन्य सामग्री र खानाबाहेक अन्य उपचार सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले स्वास्थ्य सेवा प्रत्येक नागरिकको सहज पहुँचमा पुर्याउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले आर्थिक तथा भौगोलिक कठिनाइका कारण विशेषज्ञ स्वास्थ्य सेवा लिनबाट वञ्चित जिल्लावासीलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।
नगर प्रमुख गौतमले जि।पी। कोइराला फाउन्डेसन, काठमाडौं मेडिकल कलेज र बागचौर नगरपालिकाबीचको सहकार्यबाट जिल्लाका नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाउने अवसर प्राप्त गर्ने बताउनुभयो। उहाँले शिविरबाट अधिकतम लाभ लिन सल्यान जिल्लाका सम्पूर्ण नागरिकलाई आग्रह गर्दै शिविरलाई सफल बनाउन सबैको सहयोग र सहभागिताका लागि अपिल गर्नुभयो।यस स्वास्थ्य शिविरबाट विशेषगरी आर्थिक तथा भौगोलिक कारणले सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका ज्येष्ठ नागरिक, महिला, बालबालिका, विपन्न तथा असहाय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। बागचौर नगरपालिकाले सल्यान जिल्लाका सम्पूर्ण नागरिकलाई निशुल्क स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरेको छ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।