२०८३ मङ्सिर ८ गते मङ्गलवार

लुम्बिनीमा चार महिनामा २ हजार ६ सय अपराधका मुद्दा दर्ता

तुलसीपुर, ८ मंसिर । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा दुई हजार छ सयवटा विभिन्न प्रकृतिका अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । साउनदेखि कार्तिक मसान्तसम्मको प्रहरी तथ्यांकअनुसार प्रदेशमा ज्यानसम्बन्धी कसुर, आत्महत्या, बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर र लागूऔषधसम्बन्धी अपराध प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार अपराधसम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो महिनामा क्रमशः घट्दै गएको छ । साउनमा सात सय ४८ वटा मुद्दा दर्ता भएका थिए भने भदौमा सात सय १६, असोजमा पाँच सय ५९ र कार्तिकमा पाँच सय ४७ वटा मुद्दा दर्ता भएका छन् । साउनको तुलनामा कार्तिकमा मुद्दा दर्ता संख्या करिब २६ दशमलव ८७ प्रतिशतले घटेको देखिन्छ ।

चार महिनाको अवधिमा ज्यानसम्बन्धी कसुरका पाँच सय ३७ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार साउनमा एक सय ४९, भदौमा एक सय ५७, असोजमा एक सय २२ र कार्तिकमा एक सय नौवटा मुद्दा दर्ता भएका हुन् । त्यसैगरी आत्महत्यासम्बन्धी तीन सय ७० वटा घटना प्रहरीमा दर्ता भएका छन् । भदौमा सबैभन्दा बढी एक सय १५ वटा घटना दर्ता भएकोमा साउनमा एक सय छ, असोजमा ८१ र कार्तिकमा ६६ वटा घटना दर्ता भएका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर पनि प्रदेशको प्रमुख समस्याका रूपमा देखिएको छ । चार महिनामा यससम्बन्धी तीन सय ५७ वटा मुद्दा दर्ता भएका छन् । साउनमा ९१, भदौमा ९७, असोजमा ७५ र कार्तिकमा ९४ वटा मुद्दा दर्ता भएका छन् । अन्य आर्थिक अपराधसम्बन्धी एक सय २० वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, लागूऔषधसम्बन्धी दुई सय ३७ र सामाजिक अपराधसम्बन्धी दुई सय ६६ वटा मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी कसुरमा साउनमा ५३, भदौमा ५६, असोजमा ६५ र कार्तिकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । महिला तथा बालबालिकाविरुद्धका अपराधसम्बन्धी एक सय १८ वटा मुद्दा दर्ता हुँदा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीको विवरणअनुसार जघन्य तथा गम्भीर प्रकृतिका अपराधतर्फ चार महिनामा सात सय २७ वटा मुद्दा वर्गीकृत भएका छन् । साउनमा एक सय ६४, भदौमा दुई सय ७७, असोजमा एक सय छ र कार्तिकमा एक सय ५० वटा मुद्दा यस वर्गमा परेका छन् । यसले समग्र मुद्दा दर्ता घट्दै गए पनि गम्भीर प्रकृतिका अपराध नियन्त्रणमा चुनौती कायमै रहेको देखाउँछ । एकराज भण्डारीले समाचार लेख्नुभएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।