२०८३ असार २६ गते शुक्रवार

तुलसीपुर क्षेत्रका सरोकारवाला निकाय लकडाउन गर्ने पक्षमा

तुलसीपुर, ११ भदौ । तुलसीपुर क्षेत्रका सरोकारवाला निकाय पूर्ण रुपमा लकडाउन गर्ने पक्षमा एक मत भएका छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसको विकल्पका रुपमा लकडाउन गर्नुपर्ने निश्कर्षमा यस क्षेत्रका सरोकारवाला निकाय पुगेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिको अयोजनामा भएको सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दल, तुलसीपुर चेम्बर अफ कमर्स, तुलसीपुर उद्योगबाणिज्य संघ, यतायात व्यवसायी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, संघसंस्था, मानवअधिकारकर्मी, बैंकर्स, लगाएतले एकमतका साथ कोरोनबाट बच्न लकडाउन गर्नु पर्ने र त्यसको नेतृत्व तुलसीपुर उपमहानगरपालिकाले गर्नु पर्ने सुझाव दिएका थिए ।

कतै बन्द कतै खुल्ला भन्दा पनि समन्वय गरेर जिल्लाभर एकै पटक बन्द गर्नु पर्ने भन्दै बजार पूर्णरुपमा बन्द गर्नु पर्ने बताए । खाद्यन्न, तरकारी, बैंक सबै करिब १० दिनसम्म बन्द गर्नु पर्ने उनिहरुले जोड दिएका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जिल्ला स्तरीय संकट व्यवस्थापन समितिसंग समन्वय गरेर भोली या पर्सीबाट लागु हुने गरी लकडाउन गर्ने बताउनुभयो । त्यसका लागि सबैले बोलीले मात्रै हैन व्यवहारले समेत साथ सहयोग गर्नु प्रमुख पाण्डेले जोड दिनुभयो ।

समितिका अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा भएको बैठकमा नेकपाका खुशीराम चौधरी, नेपाली कांग्रेसका जगत खड्का, समाजवादी पार्टीका जीवन भण्डारी, राष्ट्रिय जनमोर्चाका भरत भण्डारी, देशभक्त जनगणतान्त्रीक मोर्चाका  ईश्वरी प्रसाद गैरे, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रदम प्रसाद न्यौपाने, कोरोना विशेष अस्पतालका प्रतिनिधि दोर्ण वली, राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरका अध्यक्ष हरि रिजाल, तुलसीपुर उद्योगाबाणिज्य संघका अध्यक्ष विरु रावत, तुलसीपुर चेम्बर अफ कमर्सका सचिव ऋषीराज भण्डारी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह, मानवअधिकारकर्मी सुशिल बस्नेत, सरसफाई अभियन्ता बिमल रिजाल, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम न्यौपाने, डा. पदमराज अधिकारी, जेसिसका अध्यक्ष मोहन सुनार लगाएतले आ–आफना भनाई राखेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया