२०८३ असार २६ गते शुक्रवार

अस्पतालमा सेवा लिन आउने विरामी बढे तर व्यवस्थापन पक्ष राम्रो भएन

 तुलसीपुर ३ भदौ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सेवा लिन आउने विरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । पाँच नम्वर प्रदेश सरकारले तत्कालिन राप्ती अन्चल अस्पताललाई राप्ती प्रादेशिक अस्पतालको रुपमा विकास गरे संगै अस्पतालमा सेवा लिन आउने विरामीहरुको संख्या पनि बढेको हो ।प्रदेश मातहतमा रहेको अस्पतालमा अहिले विभिन्न १८ जना विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरीरहेका छन् ।
अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकको दरबन्दीको संख्या भएता पनि दुई जना मात्रै दरबन्दीका छन् भने बाँकी अन्य १६ जनाले अस्पतालमा काजका रुपमा सेवा दिदै आएको अस्पतालका सुचना अधिकारी डिल्ली बहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रालयले ५० वेडको स्वीकृती दिएपनि अस्पतालले थप गरी ९५ वेड मार्फत सेवा दिदै आएको छ ।अस्पतालमा नाककान तथा घाँटी रोग विशेषज्ञ बाहेक जनरल फिजिसियनका विशेषज्ञ ४ जना, जनरल सर्जरी(स्त्रीरोग)का विशेषज्ञ एक महिला सहित ३ जना, बालरोगका २ जना, छाला रोगका विशेषज्ञ १ जना, हाडजोर्नीका विशेषज्ञ २ जना, एनेस्थेसियाका(विहोस पार्ने) विशेषज्ञ २ जना, रडियोलोजिस्टका १ जना र दन्तरोगका विशेषज्ञ २ जना लगाएतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा दिदै आएको अस्पतालले बताएको छ ।अस्पतालमै यति धेरै चिकित्सकहरुबाट सेवा लिन पाईने भएपछि विरामीहरुको आकर्षण पनि बढेको छ ।अस्पतालका अनुसार पछिल्नो समय सेवा राम्रो हुदा दैनिक दुई ÷तिन सय नागरिकले सेवा लिन आउने गरेका छन् ।

तर अस्पतालमा व्यवस्थापन पक्ष राम्रो नभएको सेवा लिन आएका विरामीहरुले गुनासो गरेका छन् । अस्पतालको नाम दर्ता गर्ने ठाउँमा पुरुष महिलाको छुट्टाछुट्टै लाईन नहुदा भिडभाड हुने गरेको छ । व्यवस्थित नहुदा घण्टौ समय लाईनमा बस्नु परेको उनीहरुको गुनासो छ ।
कोरोना माहामारीको समय भएकाले सामाजिक दुरी कायम गर्नुेपर्ने अवस्थामा कसैले पनि त्यो नियमको पालना गरेको पाईदैन । चिनेजानेकाहरुले फोन सम्पर्क मार्फत र भित्र पसेर पर्चि काट्न लगाउने गरेको उनीहरुको आरोप छ ।यस्तो अवस्थामा जिम्मेवार निकाय कसैले कुनै चासो नदेखाएको एक सेवाग्राहीले गुनासो गरे । अस्पतालमा सेवा राम्रो भएर मात्रै के गर्नु आन्तरिक व्यवस्थापन ठिक छैन उनले भने यस प्रति अस्पताल प्रशासनले पनि ध्यान दिनुपर्ने हो ।

यस्तै अस्पताल भित्र सरसफाईको पनि अभाव देखीएको छ । सवैभन्दा ध्यान दिनुपर्ने कुरा सरसफाई भएता पनि विरामी भर्ना वार्डमा त्यसको अभाव भएको विरामी कुरुवा तुलसीपुर निवासी दिपक बुढाले बताएका छन् ।त्यस्तैगरी विरामीलाई खाली वेडमा राख्ने गरिएको छ । वेडमा बिछ्याउने तन्ना माग्दा कर्मचारीहरुले खासै चासो नदिने र खाली नभएको जवाफ दिने गरेको उनले बताएका छन् । साथै ढोका बाहिर पुरुष भर्ना कक्ष लेखीएको छ । तर उक्त वार्डमा महिला, पुरुष दुवै विरामीलाई राख्ने गरिएको छ । विद्युत लाईन अवरुद्ध हुदा पंखा नै चल्दैन उनले भने जेनेरेटर भएर के काम गर्मि र मक्षेरले बस्नै सकिदैन । रातको समय विद्युत लाईन लामो समय सम्म अवरुद्ध हुदा पंखा नचल्दा रात कटाउनै मुस्किल हुने गरेको उनले बताएका छन् । यसमा पनि कसैले चासो नदिएको उनको दुखेसो छ । यस्तै शौचालय पनि महिला पुरुषको छुट्टाछुट्टै नहुदा समस्या भएको छ ।

अस्पतालमा आउने बिरामी, गर्भवती महिला, सुत्केरी महिला र अन्य मानिसहरुले प्रयोग गर्ने शौचालय एकै ठाउँमा रहेको छ । जसले गर्दा विशेषगरी गर्भवती महिलाहरुलाई असहज हुने गरेको बताईएको छ ।सेवाग्राहीका अनुसार अस्पतालमा भर्ना भएका विरामीलाई खुवाउने खानामा पनि लापरवाही गरिएको छ ।अस्पतालमा भर्ना हुने जोसुकै विरामीलाई खाना खुवाउने व्यवस्था भएपनि अस्पतालका कर्मचारीले समयमै सुचना नदिदा कतिपयले घरबाट वा होटेलबाट खाना लिएर खुवाउने गरेको सेवा ग्राहीले बताएका छन् ।नयाँ भर्ना हुने विरामीलाई कुनै जानकारी नै हुदैन । कतिबेला खाना हो ,कतिबेला दुध दिईन्छ थाहा हुदैन ।

अस्पतालमा भर्ना भएको विरामीलाई साँझ विहान खानाको व्यवस्था छ भने विहान दुध दिईने गरिन्छ । तर उक्त कुरा कतिपयलाई थाहा नहुदा बाहिरबाट किनेर खान बाध्य भएका छन् । यस्तै अस्पतालका नर्सहरु पनि विरामीमैत्री नभएको सेवाग्राहीले गुनासो गरेका छन् ।सवै स्टाफ नर्स त्यसो नभएपनि कतिपय स्टाफ नर्सहरुको व्यवहार र शैली ठिक नभएको विरामी कुरुवाले बताएका छन् । सोधेको प्रश्नको सहजै जवाफ नदिने र परामर्श गर्न कन्जुस्याई गर्ने, विरामीको कुरा नसुन्ने स्टाफहरु विच बढि कुराकानी गर्ने गरेको उनीहरुको गुनासो छ ।

यस्तो अवस्थामा अस्पताल प्रशासनले कुनै चासो र अनुगमन नगरेको बताईएको छ ।अस्पताल प्रशासन वा अस्पताल विकास समितिले भर्ना भएका विरामीहरुले के कस्तो समस्या भोगिरहेका छन् भन्ने विषयमा ध्यान नदिएको उनीहरुले बताएका छन् । भर्ना हुदा विरामीलाई सहज छ वा असहज छ भन्ने कुरामा सम्वन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । अस्पताल प्रशासन र अस्पताल विकास समितिले व्यवस्थापन पक्ष राम्रो भए नभएको बारेमा अनुगमन गर्नुपर्ने उनीहरुको सुझाव छ ।
अस्पतालको विकासमा नितिगत व्यवस्था भएन
२०५४ सालमा तत्कालिन स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तर बृद्धि भयो । त्यसपछि २०६५ सालमा तत्कालिन स्वास्थ्य केन्द्र राप्ती अन्चल अस्पताल तुलसीपुरका रुपमा स्तर बृद्धि भएको अस्पतालका सुचना अधिकार डिल्ली केसीले बताएका छन् ।
देश संघिय संरचनामा परिणत भईसकेपछि फेरी २०७५ सालमा तत्कालिन अन्चल अस्पताललाई स्तर बृद्धि गरी राप्ती प्रादेशिक अस्पतालको रुपमा विकास गरिएको हो । तर तत्कालिन अन्चल अस्पतालबाट स्तर बृद्धि भईसकेपछि सेवा सुविधा र चिकित्सकहरुको संख्यामा बृद्धि भएता पनि अझै नितिगत रुपमा विकास हुन सकेको छ्रैन ।प्रादेशिक अस्पतालका रुपमा स्तर बृद्धि भईसकेपछि केहि विकास भएता पनि त्यो नितिगत रुपमा नभएको अस्पताल प्रशासनले बताएको छ ।

तत्कालिन अन्चल अस्पताल हुदा ५० वेडको स्वीकृत पाएको अस्पतालमा अहिले पनि उहि नै छ । विगतमा दरबन्दी अनुसार चिकित्सक नभएको समस्या थियो अहिले पनि उक्त समस्या रही रहेको छ । अस्पतालमा १३ जना चिकित्सकको दरबन्दी रहेकोमा २ जना मात्रै रहेका छन् ।अन्य सवै संघिय सरकारबाटै काजमा खटिएका चिकित्सक रहेका छन् । यस्तै अस्पतालमा नर्सिङ स्टाफ २५ जनाको दरबन्दी रहेकोमा २१ जना रहेका छन् । साथै ९ जना मेडिकल अधिकृत दरबन्दी रहेकोमा ५ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । त्यसकारण विगतको भन्दा केहि परिवर्तन भएता पनि त्यो प्रर्याप्त नभएको बताईएको छ ।
अनुगमन गरीरहेका छौ : अध्यक्ष न्यौपाने
यता राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले व्यवस्थापन पक्षलाई राम्रो बनाउन अनुगमन गरीरहेको बताएका छन् ।अस्पतालमा दैनिक अनुमगन भईरहेको बताउदै अध्यक्ष न्यौपाने कर्मचारी अभावका कारण सोचे जति व्यवस्थित गर्न नसकीएको बताएका छन् । व्यवस्थापन पक्षलाई सुधार गर्नका लागी आफु लागी परेको उनले बताएका छन् ।
विशेषगरी आईतवार र बुधवार अस्पतालमा बढि भिडभाड हुने गरेको उनले बताएका छन् ।

अस्पताल भित्र जनस्वास्थ्य कार्यक्रम सन्चालन भईरहेकाले यस पनि भिडभाड हुने गरेको र व्यवस्थापनमा चुनौती थपिएको उनको भनाई छ ।यस विषयमा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख संग पनि कुराकानी भईरहेको अध्यक्ष न्यौपानेले बताएका छन् । अस्पतालमा अहिले प्रसुती सेवा लिनेको संख्या अत्यधिक रहेको उनले बताएका छन् । अस्पतालमा ५० वेडको स्वीकृती हुदा आफुहरुले ९५ वेडको सेवा दिईरहेको पनि उनले बताएका छन् ।साथै उनले अस्पतालका सुधार गर्नुपर्ने विषयमा गम्भिर भएको बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया