प्लाष्टिक सर्जरी शिविरबाट झन्डै दुई सयले सेवा लिए, ३२ जनाको शल्यक्रिया,२७ जना रिफर

लक्ष्मण विश्वकर्मा , तुलसीपुर, २२ चैत्र । तुलसीपुरमा आयोजना गरिएको प्लाष्टिक सर्जरी शिविरमा झन्डै दुई जनाले सेवा लिएका छन् । अपाङग समाज सुधार केन्द्रको आयोजना एवं कल्याणकारी अपाङग सेवा संघ सल्यानको सहआयोजना तथा किर्तिपुर मोडेल अस्पताल र राप्ती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा प्लाष्टिक सर्जरीको निशुल्क उपचारका लागी शिविरको आयोजना गरिएको थियो । गत मंगलवार देखी सुरु भएको चार दिने निशुल्क शिविरबाट दाङ, सल्यान ,रुकुम, रोल्पा, बाँके, जाजारकोट र प्युठानका विरामीले सेवा लिएका थिए ।
शिविरबाट १ सय ९२ जनाले सेवा लिएको कार्यक्रम संयोजक तेजप्रसाद पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार दाङका १ सय ५१, सल्यानका २४, रोल्पाका ६, रुकुमका ६, बाँकेका २ ,प्युठानका २, जाजारकोटका १ जना रहेका छन् । जसमा राप्ती प्रादेशिक अस्पतालमा ओठ तथा तालु फाटेका ३२ जनाको सफल शल्यक्रिया गरिएको छ भने जटिल प्रकृतिका २७ जनालाई थप उपचारका लागी नेपालगन्ज, बुटवल र काठमाडौ रिफर गरिएको छ । उनीहरु सवैको त्यहा पनि निशुल्क रुपमा उपचार हुनेछ ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद कर्ण, किर्तिपुर मोडल अस्पताल काठमाडौमा कार्यरत प्लाष्टिक सर्जन डाक्टर किरण निकर्मी सहित तिन जना नर्स, एनेस्थिया डाक्टर धिरज, डाक्टर कमल र राप्ती प्रादेशिक अस्पतालका ५ जना सहयोगी खटिएका थिए ।

शिविरको समापन
यसैविच शिविरको शुक्रवार एक कार्यक्रमका विच समापन गरिएको छ । समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेलको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले उपमहानगरले स्वास्थ्य सुधारका लागी व्यापक कार्यक्रम ल्याएको बताएका छन् ।

उनले उपमहानगरपालिकाले होईड्रोशिल, पाठेघर, मोतियाविन्दु, मृगौला , मुटु जस्ता रोगका विरामीलाई निशुल्क उपचार गर्ने अभियान सन्चालन गरेको बताएका छन् । आर्थिक गरिवीका कारण कोहि पनि रोगी भएर बस्नु नपर्ने भन्दै त्यस्ता असाहाय , अपाङग हरुका लागी उपमहानगरपालिकाले प्याकेज बनाएर कार्यक्रम सन्चालन गरेको बताएका थिए ।

सो अवसरमा राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डाक्टर पदमराज अधिकारी, कल्याणकारी अपाङग सेवा संघ सल्यानका बरिष्ठ सदस्य चेत बहादुर खड्का र नेकपाका नेता मिनराज भण्डारी लगाएतले बोलेका थिए । सुधार केन्द्रका सल्लाहकार नारायण प्रसाद लामीछानेको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण सुधार केन्द्रका महासचिव दोलक बहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया