काठमाण्डाै २५ कात्तिक । इरानले ब्यालिस्टिक र क्रुज मिसाइलसहित प्रक्षेपण प्रणाली राखिएको नयाँ भूमिगत ‘मिसाइल सिटी’को भिडियो सार्वजनिक गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कपर्स (आईआरजीसी)सँग सम्बन्धित समाचार संस्था तस्नीमले मंगलबार सार्वजनिक गरेको भिडियोमा भूमिगत सुरुङ तथा करिडोरमा विभिन्न प्रकारका मिसाइल र सैन्य उपकरण राखिएको देखिन्छ। तर, उक्त संरचनाको वास्तविक स्थान र त्यहाँ रहेका मिसाइलको संख्या तथा प्रकार खुलाइएको छैन।
उक्त संरचनाको उद्घाटनमा इरानका चिफ अफ स्टाफ मेजर जनरल अली अब्दुल्लाही र आईआरजीसीका कमान्डर माजिद मौसवी सहभागी थिए। इरानले आफ्ना करिब ९० प्रतिशत मिसाइल भण्डारण केन्द्र र भूमिगत सुरुङ अझै सञ्चालनमा रहेको दाबी गरेको छ। अमेरिका र इजरायलका हवाई आक्रमणका बाबजुद सैन्य संरचना सक्रिय रहेको सन्देश दिन इरानले भिडियो सार्वजनिक गरेको देखिन्छ।
आईआरजीसीका कमान्डर मौसवीले आवश्यक परे इरानले क्षेत्रीय तथा त्यसभन्दा बाहिरका शत्रुका सैन्य ठेगानालाई निशाना बनाउन सक्ने चेतावनीसमेत दिएका छन्। यसैबीच, इरानले मिसाइल र ड्रोन उत्पादन गर्ने कारखानासमेत भूमिगत संरचनामा सारेको जनाएको छ। भूमिगत केन्द्रलाई हतियार भण्डारणमा मात्र सीमित नराखी उत्पादन र प्रक्षेपणका लागि समेत प्रयोग गर्ने इरानको रणनीति रहेको छ।
अमेरिका र इजरायलसँगको युद्धपछि इरानसँग कति मिसाइल बाँकी छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन। विभिन्न स्रोतका अनुमान भने फरक–फरक छन्।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।