२०८२ कार्तिक २१ गते शुक्रवार

७५ जिल्लाका छ हजार ६६८ जनामा डेङ्गु पुष्टि

काठमाण्डौं, १० कात्तिक ।  देशका ७५ जिल्लाका छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याक अनुसार छ हजार ६६८ जनामा डेङ्गु पुष्टि भएको छ । सोही समयमा पाँच डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढि बागमती प्रदेशमा पुष्टि भएको छ । बागमतीमा एक हजार ६४९ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेशमा १३९ जनामा डेङ्गु पुष्टि भएको छ ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् । त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ । डेङ्गु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधी सेवन गर्न डा. पुनले आग्रह गर्नुभयो । ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न उहाँले अनुरोध गर्नुभयो । डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया