काठमाडौँ, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनर्स्थापनाको विकल्प नभएको बताउनुभएको छ । आज शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको जिकिर गर्नुभयो । फागुन २१ गते निर्वाचनको मिति तोकेको तर राजनीतिक दलहरूसँग संवाद नगरी निषेध र दमन गर्ने कामले तोकिएको समयमा निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई संविधानले समेत नचिन्ने भन्दै अहिले क्रान्ति नभई प्रतिक्रान्ति भएकाले देश हिंसा र अराजकतामा धकेलिएको तर्क गर्नुभयो । अहिले देशमा भएको प्रतिगमनलाई सच्चाउनका लागि पनि प्रतिनिधिसभाको अविलम्ब पुनर्स्थापना हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै नेपालको जुनसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन चुनौती दिनुभयो ।।






