
दाङ,२२ असोज । दंगीशरण गाउँपालिका–३, चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयमा थारू पुस्तकालय स्थापना गरिएको छ । थारू समुदायको भाषा, साहित्य, कला, संस्कृति, इतिहासको दस्तावेजीकरण तथा अध्ययनको माध्यम बनाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको थारू सांस्कृतिक सङ्ग्रहालयका बजार व्यवस्थापक नरेन्द्र चौधरी जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकालय दसैँदेखि सञ्चालनमा आएको हो ।
पुस्तकालयमा अहिलेसम्म थारू समुदायसँग सम्बन्धित विविध विधाका १६५ वटा पुस्तक तथा पत्रपत्रिकाहरू सङ्कलन भइसकेका छन् । उहाँका अनुसार थारू शब्दकोष, थारू संस्कृति, थारू समुदायका विभिन्न लोकगीत सङ्ग्रह, थारू समुदाय सम्बन्धित गजल, कविता तथा साहित्यक पुस्तकहरु सङ्ग्रह गरेर राखिएको छ ।
त्यस्तै थारू बट्कोही, मागर, भोजाह गीत, ढुम्रु गीत, दंगीशरणका कथा वर्कीमार, गुर्बाबक जन्मौटीदेखि हमार रिति, हमार संस्कृति, गयर्वा बुडु, भूमि, किसान र राज्य, थारु सामान्यज्ञान, स्थविरहरुको प्राचीन इतिहास र संस्कृति, टीकापुर घटनाको चिरफर, टीकापुर आन्दोलनः टीकापुर कथालगायत पुस्तकहरु पुस्तकालयमा राखिएको उहाँले बताउनुभयो ।