रसुवा, २४ असार । चीनतर्फबाट अकस्मात आएको बाढीले रसुवाको भोटेकोशी नदीमा निर्मित नेपाल–चीन मितेरी पुल बगाएको छ। दुई देशबीचको सिधा सडक सम्पर्क विच्छेद भएको छ भने रसुवागढी नाका क्षेत्रमा राखिएका दर्जनौं गाडी बाढीले बगाएको प्रारम्भिक जानकारी छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार मंगलबार बिहान करीब तीन बजे अचानक बाढी आएको थियो। बाढीले पुलमात्रै होइन, सुक्खा बन्दरगाह क्षेत्रका जाँचपासका लागि राखिएका सवारीसाधन पनि बगाएको छ। ‘६–७ वटा ईभी गाडी बगेको अनुमान छ। केही चालक र सहचालक पनि बग्न सक्ने शंका छ, यद्यपि यकिन भइसकेको छैन,’ अधिकारीले बताए।
बाढीका कारण रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको ड्याम संरचनामा पनि क्षति पुगेको छ। बाढीको प्रभाव अझै पनि जारी रहेको भन्दै उद्धार टोली खटाइएको छ। हालसम्म मानवीय क्षतिको ठोस पुष्टि नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तल्लो तटीय क्षेत्र विशेष गरी मैलुङ र बेत्रावती आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।
सुरक्षाका लागि मैलुङ प्रहरी चौकीका प्रहरीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अचानक आएको प्राकृतिक प्रकोपले उत्तरी नाकाको सुरक्षामात्र होइन, नेपाल–चीन व्यापार तथा आवागमन नै पूर्ण रुपमा अवरुद्ध भएको छ।












