२०८३ भाद्र १३ गते शनिवार

इरानी क्षेप्यास्त्र आक्रमणपछि कतारको स्थिति सामान्य बन्दै

काठमाण्डौ, १० असार ।  इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य हुँदै गएको जानकारी दिनुभएको दोहा न्यूजले जनाएको छ । कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई भनेको छ । जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग पनि खुला गरिएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो । इरानले अमेरिकी आणविक साइटमाथिको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

तीमध्ये एक मात्रै बेसभित्र खसेको र अरू सबै कतारको वायु प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको कतारी अधिकारीहरुले दाबी गरेका छन् । इरान–इजरायलबीचको पछिल्लो तनावलाई मध्यनजर गर्दै कतारले सुरक्षा सतर्कता भने बढाएको छ । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा हिजो मिसाइल आक्रमण गरेसँगै इरान–इजरायल संघर्षले नयाँ मोड लिएको छ । तर आज बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै मध्यपूर्वमा बढ्दै गएको सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने सङ्केत पनि देखिएको छ । यद्यपि ट्रम्पको घोषणापछि अहिलेसम्म इजरायल वा इरानबाट ट्रम्पको कुनै प्रतिक्रिया आएको छैन ।।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।