
दाङ, २९ जेठ । दाङबाट पानीको जार लिएर रुकुम जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालीका– १० निवासी ४५ वर्षका भुपेन्द्र महत रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता तथा प्रहरी निरीक्षक हरि प्रसाद पुनले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएका महतको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा पौने ८ बजे मृत्यु भएको प्रहरी प्रवक्ता पुनले जानकारी दिनुभयो । सोही घटनामा परेर घाइते हुनुभएका घोराही –१० निवासी ३४ वर्षका गाडीका सहचालक सुन्दर कुमार बुढालाई सल्लेमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
दाङको घोराहीबाट रुकुमको खलङ्गा तर्फ जाँदै गरेको रा १ क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनीका मिनि ट्रक त्रिबेणी गाउँपालिका– २ सिम्रुतु स्थित राप्ती राजमार्गमा सवा ६ बजे दुर्घटना भएको थियो । एक्कासि ब्रेक फेल भएका कारण गाडी दुर्घटनामा परेको थियो । गाडी सडक देखि २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई झण्डै एक घन्टापछि प्रहरीको सहयोगमा ७:२५ बजे घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाइएको खिमराज खडकाले तुलसीपुर खबरलाई जानकारी दिनुभएको छ । मिनी ट्रक दाङबाट पानीको जार लिएर रुकुमको खलंगा जाँदै थियो । गाडी पूर्णरुपमा क्षेति ग्रस्त भएको छ ।