चट्याङबाट दुई सय ३७ जनाको मृत्यु, ९ सय भन्दा धेरै घाइते

काठमाण्डौ, ६ जेठ ।  नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । देशका सबैजसो क्षेत्र चट्याङको जोखिममा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताउनुभयो । उहाँका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् । एक हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्ने श्रेष्ठले बताउनुभयो ।

विशेषगरी घरगोठ र अग्ला रुख तथा टावरमा चट्याङ पर्ने गर्छ । बर्खामा किसान चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा धेरै रहेको प्राधिकरणका सहसचिव श्रेष्ठले जानकारी दिनुभयो । घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया