२०८३ बैशाख ११ गते शुक्रवार

उत्साह, उमंग, सद्भाव र नयाँ वर्षको रुपमा थारुहरुको माघ

आजभोली थारु गाउँघरमा सखिए हो माघक पिलि गुरी गुरी जाँर सखिए हो , भनेर गुणगुनाएको सानासाना केटाकेटीदेखि यूवायुवती, बृद्धबृद्धा सबैको मुखबाट गुञ्जिएको धेरै नै सुनिन्छ । किन भने थारुहरुको महान चाड माघी अहिले सबैको घरघरमा भित्रीसकेको छ, त्यसैले । थारु जातीमा यो पर्वलाई विशेष गरी ५ दिनसम्म आफ्नै परम्परा अनुसार धुमधामका साथ मनाउने गरिन्छ । माघ आगमन हुनुपुर्व थारु महिलाहरु घर लीपपोत गरी सफासुग्घर पारेका हुन्छन् र माघ कसरी मनाउने भनेर पूर्व योजना पनि बनाएका हुन्छन् । थारू जातिको महान चाड माघको विषयमा कुरा गर्दा थारू समुदायमा माघलाई एउटा पर्व मात्र नभई नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।
नयाँ बर्षको रुपमा थारुहरुको माघ
माघी पर्व थारू समुदायको चाडपर्व मात्रै नभएर नयाँ बर्ष पनि हो । नयाँ बर्ष भएकाले यो समुदायमा माघलाई हर्षोउल्हासका साथ मनाइन्छ । यस अवसरमा नयाँ नीति नियम निर्माण गरिन्छ । गाउँको अगुवादेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ?, लेनदेन घरसल्लाह लगायतका बारेमा छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गरिन्छ । जुन थारु समुदायमा मात्रै सीमित छ भने अन्य समुदायका व्यक्तिले पनि उक्तिकै साथ र सहयोग प्रदान गर्ने गर्दछन् र थारु समुदायका मान्छेहरुसंग रमाउने पनि गर्दछन् । यसले गर्दा एक अर्कामा सद्भाव कायम गर्न पनि सहज भएको छ ।
थारू समुदायमा धुमधामसँग मनाइने माघ पर्वको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । माघ आउन केही दिन बाँकी रहँदा जङ्गलमा पात टिप्न जाने, दाउरा ल्याउने, घरमा जाँड–रक्सी बनाउने, माछा मार्ने ठाउँको छनौट गर्ने लगायतका काम गरिन्छ । माछा मार्नका लागि माघ अगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा भ्युँरा–डर्ना तथा रखइना पनि भनिन्छ । भ्युँरा राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैनन् । जसले भ्युँरा राख्छ उसले मात्र भ्युँरा राखेको ठाउँमा पुस महिनाको अन्तिम दिन माछा मार्ने गर्दछन् भने कुनै गाउँठाउँमा नदी, खोला, तालतलैयामा सामुहिक रुपमा माछा मार्ने चलन पनि छ, जुन आआप्mनो गाउँको नितिनियम अनुसार हुन्छ । यसरी थारु समुदायमा माघीलाई नयाँ बर्षको रुपमा मनाइन्छ ।


माघमा खाइने ढिक्रीको महत्व
माघमा चामलको पिठोबाट बनाइएको एक प्रकारको परिकार ‘ढिक्री’ बनाएर खाने प्रचलन छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक–फरक प्रकारका हुन्छन् । माघीमा लामो ढिक्री हुन्छ । माघपछिका दिन लामो हुने भएकोले लामो ढिक्री बनाएको थारू समुदायका अगुवाहरुले बताउँछन् । अर्को तर्कअनुसार माघमा लामो ढिक्री खाएपछि आयू लामो हुने धारणा पनि रहेको छ । ढिक्रीको परिकारहरुमा थारू समुदायको मौलिकता र पहिचान झल्किन्छ । यस्तै थारु समुदायमा पुस महिनाको अन्तिम दिन सुंगुर काट्ने गर्दछन् । जसलाई थारु भाषामा ‘सुवर मर्ना’ दिन भनिन्छ । थारू समुदायमा सुंगुरको मासु बिशेष रुपमा लिइने भएकाले पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । यस दिन बिहानैदेखि भ्ँयूरा हालेर रखाएका (रख्वारी) गरेका खोला तथा कुलोहरुमा माछा मार्ने र थारु समुदायका घरमुलीहरु सबै जुटेर सुंगुर मार्ने गरिन्छ । यसरी माछा मार्ने, सुंगुर काट्ने र ढिक्री बनाउने काम पुष महिनाको अन्तिम दिन नै गरिन्छ । साँझ परेपछि आफ्ना इष्टमित्र, छिमेकीको घरमा गएर, साथीभाइकहाँ गएर जाँड, सुंगुरको मासु, माछा लगायत थारु समुदायमा खाने परिकारहरु खाँदै ढुम्रु भन्ने गीत गाउँदै माघी पर्वको प्रारम्भ हुन्छ ।
ढुम्रुको केही अंश,,
उतह लल रे हे कारल सुन्दर मठ कैर सेन्डुरा !
इहे लेव पिहा मोर सेन्डुरा बलैबु र ला ला,
मै सटि हार बलैबु र लाला ,
मै सटि हार बलैबु !
माघको दिन नयाँ बर्ष सुरुवात हुँदै छ, एक बर्ष बितेको अवसरमा श्रीमान (पिहा) लाई आफ्नो शिउँदोको सिन्दुर दिने, म सति (माघी) लाई बोलाइदिन्छु भन्ने सन्दर्भमा गाइने ढुम्रुको अंश हो भन्छन्, तुलसीपुर ६ मोतीपुरका थारु बुद्धिजीवि छोटीलाल थारु ।
यस्तै अर्को ढुम्रु (ढमार) को अंश पनि ,,,,
हरे उटरक डाँरा चरी हेरो भैया लक्षुमण !
कटहुन बाट लक्षुमण हिउँटा कैर स्वत !
थारु जाती खेती किसानी गर्ने भएकाले हिउँदको समयमा जब पानी पर्दैन अनि कुन डाँडामा चढेर हेरेपछि पानी पर्छ र कहिले पानी पर्ला र हिउँदे बाली (मसुरो, गहुँ लगायत) राम्रो होला भन्ने भन्ने सन्दर्भमा गाइने ढमार (ढुम्रु) को अंश रहेको छोटीलाल थारुको भनाई छ ।
यसरी यस्ता खालका ढमार (ढुम्रु) गाएर माघ पर्व प्रारम्भ हुन्छ । त्यस दिन राती महटवाकोे घरमा गई प्रत्येक घरबाट ठूला ठूला काठका मूढाहरु लगिएको हुन्छ । त्यसलाई बालेर धुनी जलाइन्छ । गाउँभरिका मान्छेहरु जम्मा भई त्यही धुनी ताप्दै मादलको तालमा ढमार (ढुम्रु) गाउँदै, आगो ताप्दै उनीहरु रातभरी जाग्राम बस्ने चलन छ । ढमार गीतसँगै माघमा मघौटा गीत र नाच बिशेष मानिन्छ । समयसँगै थारु गाउँमा ढमार गाउने चलन पनि लगभक लगभक हराइसकेको छ , जुन थारु ससुदायको लागि साह्रै नै दुःखको कुरा हो । यस्तै यस्तै कारणले गर्दा थारु समुदायको पहिचान हराउँदै जान्छ र हराउँदै पनि गएको छ ।
यता महिलाहरु भने बिहान भाले बासेसंगै रोटी बनाउन र तरकारीका परिकारहरु बनाउन उठ्छन् भने महटवाको घरमा रातभरी धुनी तापेर जाग्राम बसेका मानिसहरु ढमार गाउँदै, मादल बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलसागरमा नुहाउन जान्छन् । थारु समुदायमा माघ पर्वमा सबैले नुहाउनु पर्छ भन्ने पहिलेदेखिको चलन रहेको छ । जाडोका कारण कतिपय मानिसहरु लामो समय नुहाएका हुदैनन् उनीहरुलाई पनि थारु समुदायका नितिनियमले गर्दा नुहाउनु पर्ने हुन्छ । माघमा नुहाउनाले शरिर सफा मात्र नभईकन विभिन्न समस्याहरुबाट बच्न पनि सकिन्छ भन्ने परम्परागत मान्तयता रहेको छ । नुहाउँदा खेरी घाउ खटिरा लगायतका रोगहरु पनि लाग्न पाउँदैन यो राम्रो पक्ष पनि हो । तर यो पक्ष मात्र नभईकन थारु जातिको संस्कृतिको रुपमा रहेको छ । कोही लामो समयदेखि बिरामी परेको छ या त कुनैै पनि समस्या छ भने यही माघको अवसरमा जलदेवीलाई बाचा (भाकल) राख्ने गर्छन् र स्वेच्छाले भाले, परेवा तथा भेडाको बली दिने गर्छन् । जब जलदेवीसँग मागेको मनोइच्छा पनि पूरा भएको महशुस हुन्छ तब ‘मनौटा पुज्ने’ बली दिने गर्छन्, यो पनि थारुहरुको आप्mनै पहिचान हो । त्यत्तिमात्रै होेइन थारु जातिमा माघीको दिनलाई नयाँ कपडा लगाउने दिनको रुपमा पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि नयाँ बर्षको दिन नयाँ लुगा लगाउन पाए राम्रो हुने थारु समुदायका जानकारहरुले बताउँछन् ।
तिलको आगोको महत्व
त्यसैगरि थारु जातीमा तिलको आगोको पनि छुट्टै महत्व छ । तिलको आगोलाई पवित्र मानिन्छ र १ गतेको दिन अर्थात माघीको दिन तिलको आगो ताप्ने चलन पनि छ । थारू समुदायमा तिल पवित्र चिज हो त्यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता रहेको छ तर यस्तो खालको परम्परा आजभोली समय परिवर्तन संगै विस्तारै हराउँदै गएका छन् । कि जुन कुरा अहिलेका नयाँ तथा युवा पुस्तालाई सोध्ने हो भने सायद हामीलाई थाहा छैन थारु समुदायको माघीको बारेमा भन्नेहरु थुप्रै भेटिन्छन् ।
सेतो टिकाको महत्व
शान्तिको प्रतीकको रुपमा लिइने सेतो टीका जुन थारु समुदायमा माघको १ गते लगाउने गर्दछन् । जुन टिकालाई थारु समुदायमा महत्वका साथ लिइन्छ । नुहाउन गएको बेलामा नुहाएर गाउँको महटवाको हातबाट टिका लगाएर मात्र घरमा फर्किने प्रचलन छ । सेतो टिकालार्ई चोखो अथवा पवित्र वस्तुको रुपमा पनि लिइन्छ । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्ट देखिन्छ । त्यस कारणले सेतो वस्तुको जस्तै पवित्र, स्वच्छ मन होस् भन्ने मान्यता रहेको छ, त्यसैले माघीमा नुहाएर कुनैै पनि किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाने र महटवाको हातबाट सेतो टिका र आशिर्वाद लिइन्छ ।
चेलीबेटीका लागि कासेली (निस्राउ)
स्नान गरेर घर फर्किएपछि छुट्टाछुट्टै ढकीयामा राखिएको चामल, उर्द(मास) को दाल, नुन एकएक पसर निकालि छुट्टाछुट्टै टपरीमा राखी छोरी चेलीका लागि कोसेली ‘निस्राउ’ निकाल्ने चलन छ । जसलाई थारु भाषामा ‘निस्राउ कहर्ना’ भनिन्छ । चामल, मास (उर्द)को दाल र नुन लगायतको एक प्रकारको कोसेलीलाई निस्राउ भनिन्छ । जुन निस्राउ आफ्ना चेलीबेटीहरुलाई कोसेलीको रुपमा दिन जाने चलन छ । निस्राउ आफ्नो क्षमता हेरेर केही थप गरेर पनि दिने गरिन्छ ।
निस्राउ निकालेर जन्म दिने आमा–बुवालाई ढोग गरेर आर्शिवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरुले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरुसँग आर्शिवाद लिने गर्दछन् । नाताअनुसार सबै जनासँग ढोग आशिर्वाद लिदै खानपिन पनि शुरु हुन्छ । माघीमा बिशेष गरी अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको लामो आकारको ढिक्री, जाँड, सुंगुरको मासु, मेंवाको अचार, आलुको चट्नी लगायतका परिकार बनाएर खाईन्छ । यसरी यस दिनभरी नै गाउँमा यसैगरि नाता अनुसार आफ्ना मान्यजनबाट सेवा–ढोग गर्दै आशीर्वाद लिदैं स्वतन्त्र भएर माघी मान्ने गरिन्छ । यसले गर्दा समुदायमा एकता, सम्बन्ध प्रगाढ बनाउन, आपसी सहयोग र सद्भाव आदानप्रदान गर्र्नेमा सहयोग पनि गर्दछ । यसरी एकआपसमा सेवासलाम लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ, त्यसैले माघी पर्वलाई थारु समुदायमा मेलमिलापको रुपमा पनि लिइन्छ ।
यसै दिन साना–साना बालबालिकाहरु देखि युवायुवती, बृद्धबृदाहरु पनि निकै रमाइलो गर्दै माघी मनाउने गर्छन् । उमेर अनुसारका समुह बनाई घर–घरमा गएर जाँड, सुंगुरको मासु खाएर, घर–घरमा गई ढिक्री मागेर ‘माघ माने अ‍ैली’ भन्दै कराउँछन्, खान्छन्, रमाउँछन्, एक अर्काका रमाइला रमाइला कुराहरु गर्ने गदछन् ।
यता घरका मुली महिलाले ती बालबालिकाहरुलाई ढिक्री, रोटी लगायत त्यस दिनमा बनाईएका परिकारहरु खान दिने गर्छिन् र उनीहरु खाएर खुशी हुँदै उफ्रिदै बिदाई भएर अर्को घरमा माघी मान्न जान्छन् । योे क्रम पनि दिनभरि चल्छ ।
थारु समुदायका थारू युवायुवतीहरु माघ आउनुभन्दा पहिलेदेखि मघौटा गीत गाउँदै नाचेर रमाइलोे गर्छन् । दाङमा मघौटा नाच भनेर एक दमै उत्साहका साथ नाचिन्छ । नाचमा नाच्ने (नचन्यातथा नर्तकी) ले चोली (चोल्या), लहङ्गा, सट्की (नाच्दा प्रयोग गरिने कपडा) र थारु गहनामा सजिएका हुन्छन् । मादले महिला तथा पुरुष जो पनि हुनसक्छ । मादलेले मादलमा लगाइएको डोरी कम्मरमा बाँधेर मादल बजाउँछन् । गीत गाउनेहरु गीत गाउँदै झाली, कस्टार बजाउँदै रमाइलो गर्छन् । नाचमा महिला पुरुष सबैको उत्तिकै सहभागिता रहेको हुन्छ । यसरी प्रत्येक घरघरमा नाँच्दै, अनदीको झोल (जाँड) पिउँदै थारुहरु रमाउँछन्, जसलाई थारु भाषामा “माघ मन्ना” भनिन्छ । यो क्रम थारु जातिमा पाँच दिनसम्म निरन्तर चल्छ ।
मघौटा गीतको केही अंशः
‘सखी ए हो ! माघक पिली गुरी गुरी जाँर सखिय हो !
भौजी भौजी कहनु भौजी नाही बोलली रे हाँ ,,
सखिए हो ! भौजीक कारण बाबा छोरनु डुवार सखिए हो !
(भाउजु भाउनु भने तर पनि भाउजु बोल्नु भइन बाबा म भाउजुकै कारण घरको ढोका छोडेँ ए सखी ) भन्ने जस्ता आफ्ना सुखदुःख का गीतहरु माघमा गाइन्छ ।
मुक्ति दिवसको रुपमा माघ
यस पर्वमा आफूले काम गर्ने कुनै पनि अफिस, हलिया, मुक्त कमैयाहरु अथवा रैती या अन्य व्यक्तिहरु केही समयको लागि छुट्टी पाएका हुन्छन् र घरमा बसेर धुमधामका साथ आपसमा रमाइलो गरेर माघी पर्व मनाउने गर्दछन् । यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रुपमा मनाइने भएकोले यसलाई थारु समुदायमा मुक्ति दिवसको रुपमा पनि लिने गरिन्छ ।
माघमा सबै जना स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ, त्यसैले मानिसहरु स्वतन्त्र रुपमा माघी मनाए जस्तै पहिले–पहिले घरमा पालिएका पशुहरु (भेंडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी, सुंगुर) लाई पनि छाडा छाडिन्थे र कसैको बाली नोक्सानी गरे पनि त्यस दिन आम माफी हुन्थ्यो तर समय परिवर्तन भएसंगै योे चलन अहिले परिवर्तन भएको छ । पहिले जे जस्तो भए पनि आज भोली यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको थारु अगुवाहरुको भनाई रहेकोे छ । माघ १ गते यस्तो दिन हो की जुन थारु समुदायका मान्छेहरुले माछा मासु पकाउने र मार्ने कार्य पनि गर्देनन् । माघ १ गतेको दिनलाई थारु समुदायमा नयाँ बर्षको रुपमा मनाइने हुनाले नयाँ बर्षको दिनमा गलत क्रियाकलापहरु नगर्ने र गलत क्रियाकलाप गरेमा पछि कुनै पनि कुरामा असर पुग्छ त्यसले यस दिनमा मासुको तरकारी समेत नपकाउने चलन रहेको छ ।
बली दिने होस् या त खानपिनको लागि होस् माघको १ गतेका दिन कुनै पनि पशुपंक्षीको काटमार हुँदैन । त्यस कारण पुषको अन्तिम दिन नै पकाएर राख्ने र २ दिनसम्म त्यही खाने गरेको थारु बुद्धिजीविहरु बताउँछन् ।
थारु समुदायमा खिचडी पकाएर खाने दिनलाई ‘खिच्रहवा’ भनिएको हो । थारु समुदायले खिचडी पनि माघमा खाने गर्दछन् । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू तथा तेलमा पकाइन्छ । खिचडी जस्तै जमिन्दार, रैती, किसान, कमैया, ओर्गि्नियाँ(महिला अगुवा), छेग्रहवा(बाख्रा चराउने मान्छे), बर्डिवा(गोरु चराउने मान्छे), भैंसर्वा( भैंसी चराउने मान्छे) सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको पुराना पुस्ताका थारुहरुको भनाई छ । यस दिन कसैले कसैलाई पदीय रुपमा विभेद गर्न पाउँदैनन् । सबै जना स्वतन्त्र रुपमा दिल खोलेर बोल्न बोल्छन् यसर्थ पनि थारु जातिमा माघ पर्वको महत्व धेरै नै छ ।
बर्षभरिको समीक्षाको रुपमा माघ
घरभित्रको आन्तरिक छलफल पुषको अन्तिम दिन भएपनि वर्षभरिको कामको समीक्षा गर्ने, पुनः जिम्मेवारी लिन–दिने भने माघी दिवानीको दिन गरिने थारु अगुवाहरुले बताउँछन् । महटवालाई मान्न जानेलाई माघ दिवानी भनिन्छ । माघ दिवानी गाउँको महटवाको घरमा माटोको भाँडो (करै) मा रक्सी लिएर प्रत्येक घरको घरमूली माघ दिवानी मनाउन जाने गरिन्छ जुन चलन कुनैकुनै गाउँमा आजभोली हराइसकेको छ भने कतै निरन्ता दिइएको पनि देखिन्छ ।
योजना निर्माण गर्ने दिनको रुपमा माघ
यस्तै गरी माघमा (‘भुराखेल’ तथा ख्याल) बैठक पनि बसिन्छ । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरुको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले बिशेष महत्व मानिन्छ । अगुवालाई ठाउँ बिशेष अनुसार बरघर, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया (अगाडिको मान्छे), पन्हेर्वा (पानी हेर्ने मान्छे), गाउँको भूँइह्यार थानको हेरचाहका लागि र गाउँको रक्षक (चौकिदार) पनि चयन गरिन्छ । बैठकमा गत वर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडकलगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति नियम निर्माण गर्ने र नियम उल्लंघन गर्नेलाई दण्ड जरिवाना पनि तोकिन्छ ।
यस्तैगरी परिवारको को व्यक्ति कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरुको विवाह गर्ने र नगर्ने, ‘छारा’ (बसाइ सराइँ) सरेर जाने र नजाने, घर छुट्टिने र नछुट्टिने, अधिया–बटैया लिने–दिने, बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसँगको लेनदेन, हिसाब–किताबलगायतका घरायसी कुराहरुको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम पनि माघीमा हुन्छ । तर आजभोली यस्तो गरिदैन किन भने यी सबै समयको परिवर्तनयसै गरी आप्mनो मौलिक परम्परा,पहिचान र संस्कार भुल्नु नै यसको प्रमुख कारण मानिन्छ ।
माघीको मौलिकता हराउँदै
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको मौलिक परम्परा समाजमा भएको परिवर्तनसँगै पहिल्लो समय लोभ हुन थालेको छ । जसलाई हामीले संरक्षण र संवद्र्धन गर्नु पर्ने हो । यसरी थारू समुदायमा अगुवा चुन्ने, नीति निर्माण गरिने, आगामी योजनाको छनोट गर्नेे भएकोले गाउँलाई पनि अनुशासित बनाउँछ र नियममा रहन सहयोग पनि गर्छ, त्यसैले यसलाई जोगाउन अत्यन्त जरुरी छ । यसलाई बचाउन सकियो भने गाउँघरमा परम्पराभन्दा पनि समृद्ध संस्कृति र समाजको विकास गर्न सहज हुन्छ । हाम्रो देश नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक हो । यहाँका विभिन्न जातजातिहरूको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति अनुसार चाडपर्वहरु रहेका छन् । त्यसैगरी आफ्नै किसिमका लवाई–खवाई र चाल–चलन पनि रहेका छन् । यसरी विभिन्न जातजाति, कला र संस्कृतिले हामीलाई नेपाली बनाएको छ । एक अर्काको कला, संस्कृतिलाई स्वीकार्नु र सँगसँगै रमाउनु हामी नेपालीको बिशेषता होे । यसरी समुदायमा एक आपसमा सद्भाव बढाउन र एक अर्कामा सहकार्य गर्नको लागि पनि थारु जातिमा माघी पर्वको महत्व रहेको छ ।
अन्त्यमा २०८१ सालको माघ तथा थारु संवत २६४८ को अवसरम सम्पुर्णमा हार्दिक शुभकाममना व्यक्त गर्दछु ।।।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया