काठमाडौँ — देशभरका बालबालिकाको स्वास्थ्य सुदृढ बनाउन लक्षित राष्ट्रिय अभियानअन्तर्गत सरकारले आजदेखि दुई दिने भिटामिन ‘ए’ वितरण कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार अभियानमा भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइँदैछ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल दिइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ खुवाइँदैछ। यसका लागि देशभर स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप तथा वितरण केन्द्र सञ्चालनमा ल्याएका छन्।
अभियान सफल बनाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार भिटामिन ‘ए’ बालबालिकाको आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता तथा समग्र वृद्धि विकासका लागि अत्यन्त आवश्यक मानिन्छ। साथै, जुकाको औषधिले पेटका किराहरू नष्ट गरी कुपोषण, रक्तअल्पता, पेट दुख्ने र झाडापखालाजस्ता समस्या कम गर्न मद्दत पुर्याउँछ।
नेपालमा भिटामिन ‘ए’ अभाव न्यूनीकरण गर्ने उद्देश्यले विसं २०५० मा आठ जिल्लाबाट सुरु गरिएको यो कार्यक्रम विसं २०५९ देखि देशभर विस्तार गरिएको हो। नियमित रूपमा सञ्चालन हुँदै आएको यस अभियानले बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।












