२०८३ बैशाख ११ गते शुक्रवार

कांग्रेसलाई संसदीय दलको नेता चुन्न सकस, चयन प्रक्रिया स्थगित

फोटो फाईल

काठमाडौ, ११ बैशाख । नेपाली कांग्रेस प्रतिनिधिसभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिका समेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली-‘स्नेही), मुना भुसाल र राजु कटुवाल छन् ।कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेको नेताहरुको भनाई छ ।

यस्तै उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका बुझिएको छ ।त्यस्तै समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराउनु भएको छ । नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया