२०८३ बैशाख ३ गते बिहिवार

तुलसीपुरमा सिएनटी प्रेसका सागर सुवेदी पक्राउ

तुलसीपुर, ३ वैशाख । इलाका प्रहरी कार्यालय तुलसीपुरले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी सिएनटी प्रेसका सागर सुवेदी रहेको प्रहरीले जनाएको छ । रेडियो प्रकृति एफएमको स्टुडियोमै आज दिउँसो साढे ४ बजे प्रवेश गरी न्युज डेस्क प्रमुख चेतन वलीमाथि एक्कासी आक्रमण गरिएको स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार वली समाचार तयारीमा व्यस्त रहेका बेला बाहिरबाट ढोका ढकढक्याएपछि खोल्नेबित्तिकै सुवेदीले आक्रमण गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले रेडियो प्रकृति एफएमको दोस्रो तलाबाटै सुवेदीलाई नियन्त्रणमा लिएको हो ।

घटनाप्रति कडा निन्दा र कारबाहीको माग

घटनाप्रति रेडियो प्रकृति एफएमले घोर भत्र्सना गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष नारायण खनालद्वारा जारी विज्ञप्तिमा समाचार निर्माणको क्रममा रहेका पत्रकारमाथि गरिएको यस्तो आक्रमणलाई केवल व्यक्तिगत हमला नभई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहारका रूपमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्टुडियो जस्तो सुरक्षित र संवेदनशील कार्यस्थलमै भएको यस्तो घटना अत्यन्तै निन्दनीय र अस्वीकार्य रहेको जनाइएको छ । साथै, सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, यस्ता घटनाको पुनरावृत्ति रोक्न तथा स्वतन्त्र पत्रकारिताको संरक्षण गर्न राज्यका सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ । रेडियो प्रकृति एफएमले आफू सधैं निष्पक्ष, निर्भीक र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार
प्रतिक्रिया