दाङ, ११ वैशाख । स्वर्ण विन्दु प्रासन जुम्बा डान्स जस्तो नभएको राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदन कुमार विसीले टिप्पणी गर्नु भएको छ । बाल रोग विशेषज्ञ डा. किशोर खत्रीले सामाजिक संजाल फेसवुकमा ‘मह मिसाइएको स्वर्ण विन्दु प्रासन एक वर्ष मुनिका बच्चालाई खुवाउँदा विषालु हुनसक्छ’ भन्ने स्टाटस एका बिहानै लेखेपछि डा. विसीको यस्तो प्रतिकृया आएको हो । ‘उहाँको अस्पतालमा निरोगी भएर बिरामी घटेपछी अन्टसन्ट लेख्न थाल्नु भएको छ । हाम्रो विधा उहाँको विधा फरक हो । यो जुम्बा डान्स जस्तो होइन ।’ डा. विसीले भन्नुभयो ।
एउटा चिकित्सक जस्तो मान्छे समाजलाई भडकाउने गरि बोल्न नहुने बताउँदै डा. विसीले फिल्डमा आएर स्वर्ण विन्दु खुवाएका बालबालिकाका आमालाई सोध्न समेत आग्रह गर्नुभयो । दाङमा गत मंसिर महिनाबाट स्वर्ण विन्दु प्रासन खुवाउन थालिएको हो । ६ महिनाको अवधिमा ६ महिनादेखि ५ वर्षसम्मका २३ हजार ३ सय १ जना बालबालिकालाई स्वर्ण विन्दु खुवाइएकोराप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरले जानकारी दिएको छ । आजमात्रै चार हजार ८ सय ३६ जना बालबालिकालाई स्वर्ण विन्दु खुवाइएको छ ।
स्वर्ण विन्दु प्रासन खुवाउने तयारी गरिरहेका बेला डा. खत्रीको यस्तो स्टाटसले कतिपयलाई दोधार समेत बनाएको थियो । आफुलाई सामाजिक अभियान्ता समेत बताउने डा. खत्री तुलसी बाल अस्पतालका संचालक र केही समय देखि तुलसीपुरमा स्वास्थ्यका लागि भन्दै जुम्बा डान्स पनि संचालन गर्दै आउनु भएको छ । स्वर्ण विन्दु खुवाउनका लागि दाङ सहित, सल्यान र सुर्खेतबाट समेत सेवा ग्राही आउने गरेको चिकित्सालयले जनाएको छ ।
डा. किशोर खत्रीको स्टाटस

के हो स्वर्णविन्दु प्रासन ?
स्वर्ण प्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ । ‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पु¥याउँछ । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।
यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ । यससँगै मातृ शिशु स्वास्थ्य प्रवद्र्धनलाई पनि जोडिएको छ ।


















