तुलसीपुर, २९ मंसर । दाङको तुलसीपुरमा चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–११ मज्गैका ३९ बर्षीय गोपाल बिक र सल्यानको कपुरकोट गाउँपालिका–५ रिम निवासी २५ बर्षीय कमल थापा रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–५ नामिनगरस्थित घर नजिकै बाटोमा पार्कीङ गरि राखेको रा ३ प ५२२१ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल गत बिहिबार साँझ साढे ७ बजेको समयमा चोरी भएको भन्दै मोटरसाइकल धनि शान्तिनगर गाउँपालिका–२ पेदाका ४१ बर्षीय खुलराज रानाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।
त्यसपछी मोटरसाइकलको खोजी कार्य तिब्र पारेको प्रहरीले इन्स्पेक्टर विनोदराज खत्रीको कमाण्डमा तुलसीपुर–६ हात्तिखवास्थित सवारी चेकजाँचका क्रममा सोही दिन राती साढे ९ बजेको समयमा उक्त मोटरसाइकल फेला पारेको हो । सल्यानका थापाले चलाएको र तुलसीपुरका बिक पछाडी सवार रहेको अवस्थामा मोटरसाइकल भेटिएपछी उनीहरु दुबैजनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।।