काठमाडौ, २४ कात्तिक । इजरायलले गाजामा गरिरहेको आक्रमणमा परी मृत्यु हुनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु भएको आक्रमणमा मारिएका मध्ये ४४ प्रतिशत बालबालिका रहेको पाइएको हो । १३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाको मृत्यु भएको हो । गाजामा अरु २० हजार भन्दा धेरै बालबालिका हराइरहेका छन् ।
औषतमा दैनिक ६७ जना बालबालिकको मृत्यु हुने गरेको छ । यस्तै मृत्यु हुनेमध्ये महिला र बालबालिकाको सङ्ख्या ७० प्रतिशत रहेको राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टुर्कले बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत मानव अधिकार सङ्गठनले गरेको अध्ययनको निष्कर्षमा इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको र त्यो मानवताविरुद्धको अपराध हुन सक्ने उल्लेख छ । इजरायलको आक्रमणमा परी अहिलेसम्म ४३ हजार चार सय ६९ जना प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।