काठमाडौँ, २० कात्तिक । दैलेखको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोलामा चट्याङ लागेर ६ जना किशोरीहरु घाइते भएका छन् । घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार उनीहरु एकै ठाउँमा झुम्मिएर उभिएको अवस्थामा चट्याङ पर्दा एकैसाथ ढलेका थिए । पाँच जनाको दैलेख अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार