काठमाडौं, १९ कात्तिक । बाँकेको खजुरामा विषाक्त खाना (फूड प्वाइजन) हुँदा एकै घरका छ जना बिरामी परेका छन् भने एक जनाको मृत्यु भएको छ । फूड प्वाइजनका कारण खजुरा गाउँपालिका–५ बसन्तपुरका एकै घरका छ जना बिरामी परेको र बिरामीमध्ये घरमुलीको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । हेल्थ असिस्टेन्ट थापाका अनुसार फूड प्वाइजनका कारण घरमुली ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको हो ।
उहाँका अनुसार मृतककी ५५ वर्षीया श्रीमती चौरासिया यादव, ३६ वर्षीय छोरा भुवनटु यादव, ३५ वर्षीया बुहारी मीना यादव, १४ वर्षीय नाति जसमान यादव र ६ वर्षीय नाति अमृत यादव बिरामी हुनुभएको छ । गए राति उहाँहरु सबैले घरमा पिँडालुको तरकारी, साग तथा पुरी खानुभएको र रातिदेखि नै सबैलाई झाडाबान्ता भएको थियो । आज बिहान ८ बजे मात्र उपचारका लागि स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै अहिरको मृत्यु भएको थापामगरले जानकारी दिनुभयो ।।