काठमाण्डौं, १२ असोज । मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार देशभरमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । काठमाण्डौमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जना गरी ३४ जनाको मृत्यु भएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । यस्तै तीनवटा जिल्लामा गरी १७ जना वेपत्ता रहेका कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाण्डौमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन् । काठमाण्डौ उपत्यकामा एक हजार तीन सय १५ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । यस्तै ७९ वटा पशुचौपाय मरेका र दुई हजार दुई सय ४१ वटा घर डुवानमा परेका एसएसपी घिमिरेले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार