तुलसीपुर, २ असोज । दाङको दंगीशरणमा बाघको आक्रमणबाट २ वटा बाख्रा मरेका छन् । दंगीशरण गाउँपालिका–१ को फुर्केसल्लीस्थित चिउरेपानी निवासी स्थानिय भुमा वलीका २ वटा बाख्रालाई बाघले आक्रमण गरेको स्थानियले जानकारी दिएका छन् । घरमा बाधेको अवस्थामा एक्कासी जंगलबाट आएको बाघले आक्रमण गर्दा दुईवटा बाख्रा मरेको पिडित वलीले बताउनुभयो । उहाँका अनुसार घर नजिकै बारीमा चराएर आज बेलुका सवा ५ बजेको समयमा घर लिएर बाधेको केही समयमै बाख्रालाई बाघले आक्रमण गरेको हो । बाघले बाख्रालाई घिसारेर घरदेखी झण्डै १ सय ५० मिटर टाढाँ पुर्याएको थियो ।
दुईवटा बाख्रा बाघले खादै गरेको अवस्थामा आफुहरु पुगेपछी त्यहाँबाट बाघ जंगलतिर भागेको उहाँले बताउनुभयो । बाघको आक्रमणबाट दुईवटा बाख्रा मर्दा झण्डै २५ हजार बराबरको क्षती भएको उहाँले बताउनुभयो । बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने फुर्केसल्लीबासीका लागी यो घटना नौलो भने होइन । विभिन्न समयमा यसरी बाघले बाख्रा, गाई, गोरुलगाएतका घरपालुवा जनावरलाई आक्रमण गर्दै आएको छ । बाघको आक्रमणबाट घरपालुवा जनावरको मृत्यु भएमा निकुञ्जले क्षेतीपुर्ती त दिदै आएको छ । तर, झन्झटिलो प्रकृया र समयमा राहत नपाइने समस्या रहेको स्थानियले गुनासो गरेका छन् ।।