आज भन्दा ३२ वर्ष अगाडि हामीलाई बुबाले छोडेर जानुभयो । अलिअलि सपना जस्तो लाग्छ बुबा बित्दा आमाले घरको भित्तामा टाउको ठोक्दै रोएको । हुन त थाहा पनि कसरी होस् ? मात्रै २ वर्षको थिएँ । बुबाले छोडेर जाँदा । दिनभरी प्यूठान बाग्दुला बजार घुमरे साँझ पख घर आउनु भयाे । आउने वित्तीकै बाजे बिरामी भएकाे खबर पाएपछि करिब २ किलोमिटर टाढा बाजेको घर जानुभयाे । बाजेसँग माइलो बुबा बस्नुहुन्थ्यो । बुबाको बुबा हाम्रो बाजे बिरामी भएकाले भेटेर आउँछु भनेर जानु भएछ । तर बुबा आउन ढिला गर्नु भएछ । आमाले हामी छोराछोरी ५ भाइ बहिनालाई खुवाई चुठाइ गरि सुताउनु भएछ । रात छिप्पिई सक्यो तर बुबा आउनुभएछ । अनि आमाले सोच्नुभयो ससुरालाई बढी बिसन्चो भयो कि त्यसैले आज उतै बस्नुहुन्छ होला भन्दै सत्नु भएछ । उतिबेला न फोन न कुनै अन्य खबर गर्ने माध्यम । हिँडेर जाउँ रातिमा कसरी जाने ।
बिहान छ बजे उठेर आमा भैँसी दुहुन गएका बेला माइली आमा आई जेठाजु बिरामी हुनुहुन्छ । रातभरि उँधोउँभो ( झाडापखाला र बान्ता ) भएछ । बाहिर चर्पी जाँदा कता ताउलोमा पर्नुभएछ दिदी । एक्कासि फन्फनिदै मेरो मामा कान्छो लाई लिएर जानुभएछ । त्यहाँ पुग्दा बुबाको अवस्था देखेर होसहवास उडेछ । मामाले जुरुक्क बोकेर घर ल्याइएर बाहिर दलानमा राखेको खाटमा सुताउनु भएछ । बुबाले एकपटक खुट्टा मालिस गर्देउ न बाहेक अरू केही भन्न नसकी बिदा हुनुभयो । जीवनजल पानी खुवाउन नपाउँदै मेरो बुवाले संसार छोड्नुभयो ।
बिरामी बुबालाई भेट्न गएको छोरो आफै बिरामी मात्रै होईन अन्तिम अवस्थामा घर ल्याइपुर्याँइयो । हुनत भनिन्छ काल आएपछि कसैले रोक्न सक्दैन तर केही कुरामा ख्याल गरिदिएको भए बुबा बाँच्नुहुन्थ्यो कि जस्तो लाग्छ । जस्तो की बुबा दिनभरी बजार डुलेर आएको धपेडीमा बुबालाई भेट्न नगएको भए । गएपनि छिट्टै फर्केको भए । राती बिरामी भएको थाहा पाउनेबित्तिकै खबर पुर्याइदिएको भए वा औषधिमुलो पाएको भए । आदी आदि……… । बुबाले संसार छोडेर गएपछि हाम्रो घरमा असली अभिभावकको रूपमा दुई मामा हुनुभयो ।
मामा हरूको हाम्रो नजिकै कुटानी पिसानी गर्ने मिल थियो । मामाहरूको घर आरूगैरा करीव १ घण्टाको पैदल दुरीमा थियो । मामाहरू रातदिन मिलमा व्यस्त हुनुहुन्थ्यो । राती प्राय हाम्रो घरमा बस्नुहुन्थ्यो । परिवारमा हामी ३ दाजुभाई र २ वटी दिदिहरू र आमा थियौँ । म सानो भएकाले बुबाको अभावको महशुस भएन । ठुली दिदि, ठुलो दाजु मामाहरूले त्यसको अभाव हुन दिनुभएन । तर हाम्रो परिवार एक हिसावले पुरै अनाथ भएको थियो । सबै जिम्मेवारी ठुलो दाजु चेतमान र ठुली दिदि लक्ष्मीको काँधमा आयो । अझ भनौँ ठुली दिदिको काँधमा भाईहरूलाई हुर्काउने पढाउने आमालाई सम्हाल्ने जिम्मा दिदिको काँधमा आयो ।
ठुली दिदि महिला भएपनि हरेक कुरामा उहाँ पुरूष भन्दा कम हुनुहुन्न । त्यतीबेला गोरू जोत्ने र गाई दुहुने बाहेक बुवाको सबै बिँडो दिदिले धान्नुभयो । दिदिलाई बिहेका लागि राम्रो राम्रो प्रस्ताव पनि आए तर दिदिको एउटै अठोट थियो मेरा टुहुरा भाई हरूलाई कस्ले पढाउँछ कस्ले पालिदिन्छ ? त्यसैले जस्तो सुकै राम्रो प्रस्तावलाई पनि उहाँले अस्विकार गर्नुभयो र एउटा असल अभिभावक भएर हामिलाई शितल छाहरी दिनुभयो । मलाई अहिले जस्तै लाग्छ म बिरामी हुँदा दिदिले ३ घण्टाको पैदल यात्रा गर्दै खप्रेङखोला हेल्थपोष्टमा लैजानुहुन्थ्यो । दिदिले मलाई हिँड्न कहिल्यै दिनुभएन । मलाई याद छ बर्किले बोकेर तिरिना खोला लैजाँदा मलाई तितो उल्टी प्राय आउँथ्यो र आधाउधी सन्चो हुन्थ्यो । अनि अस्पताल लगेर फेरी साँझ टुप्लुक्क घर ल्याईपुर्याउनु हुन्थो ।
यसरी हाम्रो पालनपोषण शिक्षादिक्षा गर्दा ठूली दिदिले १ कक्षा पनि पढ्न पउनुभएन । घाँस दाउरा मेला पातमै दिदिको उर्जाशिल जिवन सकियो । आज हामी जुन स्थानमा छौँ त्यसमा धेरैको साथ सहयोग छ तर मेरी ठुली दिदिको जति शब्द लेखे पनि यहाँ बयान गर्न सकिदैन । कान्छी दिदि जिवाले पनि कम त गर्नुभएन तर उहाँले कम्तिमा १० कक्षा सम्म पढ्नुभयो, समयमै विहे भयो । तर ठुली दिदिले हाम्रो भविष्य उज्यालो बनाउदा बनाउदै आफ्नो भविष्य अन्धकार पार्नुभयो । दिदि पटक पटक मरेर बाँच्नुभएको छ । कहिले घाँस दाउराको भारीले थिचेर, कहिले अरिङ्गालले टोकेर त कहिले गोरूले आँखाम सिङले हानेर दिदि गम्भिर घाईते हुनुभएको छ ।
दिदिको संघर्षको कथा यहाँ सबै लेख्ने हो भने एउटा किताव नै तयार हुन्छ । ठुली दिदि पछि ठुलो दाजु चेतमान जो वुवाको मायाँ, अभिभाकत्व दिनुभयो र आज पनि दिईरहनु भएको छ । बुबाको मृत्यु पछि हलो समात्ने दाइ नै हुनुहुन्छ । हामी दुई भाई साना नै थियौँ । दिदिहरूले जोत्न हुँदैन भन्ने थियो । बुबाले प्युठानको लुप्लुङमा राम्रै जग्गा जमिन जोड्नुभएको थियो । हामी त्यहाँ मध्यम वर्गिय परिवार थियौँ । दुख गरेपछि के खाँउँ के लाउँ हुँदैनथ्यो । जग्गा जमिन प्रसस्त थियो । पहाडमा जति धेरै जग्गा भयो त्यती दुःख हुने । दाजुले सारा खेतबारी जोत्नुहुन्थ्यो । १२ वर्षको उमेरदेखि हलो जोत्न (बुबाको बिँडो धान्न) थाल्नुभयो । संगसंगै आफ्नो पढाईलाई पनि अगाडि बढाउनु भयो ।
दाजुको संघर्ष अहिले पनि उत्तिकै छ । मेरो दाजु एक हिसावले भन्ने हो भने कामको मेसिन नै हुनुहुन्छ र त सफल पनि हुनुहुन्छ । त्यतिबेला हामी टुहुरालाई केही सामन्तीहरूले हेप्ने काम पनि गरे । आमालाई विभिन्न किसिमका आरोपहरू पनि लगाए तर मेरी आमा ३५ वर्षमा विधुवा भएपनि सतिशाल भएर हाम्रो भविष्यको लागि लाग्नुभयो । आज यो स्थानसम्म ल्याईपु¥याउने मेरी आमा, मामाहरू, दिदिहरू, दाजुहरू ईष्टमित्र भाई गोत्यार सबैलाई सम्झन चाहन्छु । आज बुबा भईदिएको भए कति खुशि हुनुहुन्थ्यो होला । अनि हाम्रो स्थीति यो भन्दा अझै राम्रो हुन्थ्यो होला । जेहोस् बुबाको भौतिक शरिर नभएपनि उहाँले जे सपना देख्नुभएको थियो केही हदसम्म पुरा भएको छ जस्तो लाग्छ ।
बुबाको सपना पुरा गर्नका लागि आगामी दिनमा अझै निष्ठापुर्वक जनताको सेवामा लाग्ने प्रण गर्दछु । बुबाको मायाँ कस्तो हुन्छ थाहा नपाएको मलाई आज बुबाको मुख हेर्ने दिनमा सारै याद आउँछ । साँच्तै मेरो बुबा असल समाजसेवी हुनुहुन्थयो । अहिले पनि बुढा पुरानालाई चिनाउँदा बुबाकै नामबाट चिन्छन् । प्युठानमा त झनै गवदे जेठा दिनामणीको छोरा नभनी बुढापाकालाई चिन्न अप्ठेरो पर्छ । ३२ वर्ष अगाडि हामीलाई छोडेर गएपनि उहाँले कतैबाट हाम्रो निगरानी र मार्गदर्शन गरेको जस्तो लाग्छ । आज बुबाको मुख हुेर्ने दिनमा बुबाको फोटो हेरेर भएपनि चित्त बुझाउँदै छु । हार्दिक श्रदान्जली बुबा !