प्रकृतिले चेतावनी दिइरहेको छ । प्रश्न यति मात्र हो—हामी त्यस चेतावनीलाई समस्याको विषय बनाएर पाठ तयार पार्दै, गोष्ठी गर्दै र छलफलमै सीमित भइरहने कि त्यसलाई शिक्षाका रूपमा ग्रहण गरेर आफ्नो जीवन र व्यवहारमै लागू गर्ने ? आज ग्लोबल वार्मिङ (न्यिदब िध्बचmष्लन) सम्पूर्ण मानव सभ्यताकै लागि गम्भीर चुनौती बनेको छ । पृथ्वी तातिँदैछ, हिमाल पग्लिँदैछन्, हिमतालहरू फुट्ने जोखिम बढ्दैछ, मौसमको चक्र असन्तुलित हुँदैछ । यसको पछाडि प्राकृतिक कारण मात्र छैन; मुख्य कारण हाम्रो चिन्तन र व्यवहार पनि हो । प्रकृतिलाई जीवनको आधार होइन, केवल उपभोगको साधन ठान्ने चिन्तनले आज संसारलाई यहाँसम्म ल्याइपु¥याएको छ ।
प्रकृतिबाट अधिकतम स्रोत निकाल्ने, त्यसबाट निजी सम्पत्ति थुपार्ने र त्यही सम्पत्तिबाट सुख खोज्ने प्रवृत्ति विश्वमा बलियो भयो । यही प्रवृत्तिलाई हामी व्यापक अर्थमा पूँजीवादी चिन्तन भन्छौँ । तर, एकपटक आफैँलाई प्रश्न गरौँ—के हाम्रो पूर्वीय ज्ञान, विचार र सभ्यता यही हो ? पक्कै होइन । हामी त प्रकृतिलाई केवल उपभोग गर्ने होइन, सम्मानपूर्वक उपयोग गर्ने संस्कृतिका उत्तराधिकारी हौँ । हामी शैव संस्कृति र वैदिक सनातन परम्पराभित्र हुर्किएका ऋषि–महर्षिका सन्तान हौँ, जहाँ नदी, पर्वत, वन, वृक्ष, पशुपक्षी र सम्पूर्ण प्रकृतिलाई जीवनको अभिन्न अंगका रूपमा हेरियो । प्रकृतिसँग सहअस्तित्वमा बाँच्ने संस्कार हाम्रो मौलिक चिनारी हो ।
तर आज त्यो संस्कारमाथि उपभोक्तावादी शिक्षा र जीवनशैली नराम्ररी हावी भएको छ । पूँजीवादी व्यवस्थाको आलोचना गर्दा यसको संरचनागत पक्ष बुझ्न जरुरी छ । बजार विस्तारका लागि पहिले उपभोक्ता तयार गरिन्छ । त्यसपछि उपभोग र भोगलाई नै जीवनको सफलता ठान्ने मानसिकता निर्माण हुन्छ । माग बढेपछि प्रकृतिको अधिकतम दोहन हुन्छ, उत्पादन र नाफाको दौड तीव्र हुन्छ । परिणामतः वन विनाश, अत्यधिक उत्खनन, प्रदूषण र हरितगृह ग्यास उत्सर्जन बढ्दै जान्छ ।
नाफामुखी शक्तिको प्रभावमा राज्यका नीति र प्राथमिकतासमेत प्रभावित हुने जोखिम रहन्छ । तर यहाँ अर्को प्रश्न पनि उठ्छ—के समाजवाद र साम्यवादले यसभन्दा फरक बाटो देखाउँछन । समाज भनेको केवल मानिसहरूको बस्ती होइन । समाज त समग्र प्रकृतिको एउटा हिस्सा हो, जहाँ मानिससँगै पशुप्राणी, वनस्पति, नदी, माटो, पहाड र असंख्य जीवहरूको अस्तित्व जोडिएको हुन्छ । त्यसैले एउटा सच्चा समाजवादी चिन्तनले मानिसको मात्र होइन, प्रकृतिका प्रत्येक अस्तित्वको सम्मान र संरक्षणलाई पनि आफ्नो सरोकार मान्छ ।
पृथ्वी कसैको निजी सम्पत्ति होइन । यो सबैको साझा घर हो । यहाँ हरेक जीवले सरल, सहज, सम्मानित र सुरक्षित जीवन बाँच्न पाउनुपर्छ । प्रकृतिको समुचित उपयोग गर्दै भावी पुस्ताका लागि पनि पृथ्वी जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो । आज जलवायु परिवर्तनको ठूलो मूल्य भने हामीजस्ता मुलुकहरूले चुकाइरहेका छौँ—जसको योगदान तुलनात्मक रूपमा नगण्य छ । हिमाल पग्लिरहेका छन्, हिमतालहरू विस्तार भइरहेका छन् र कुनै एउटा हिमताल फुट्दा त्यसले निम्त्याउने विनाश कति भयावह हुन सक्छ भन्ने घटनाहरूले देखाइसकेका छन् ।
भोलि यस्ता जोखिम अझ बढे भने हाम्रो अवस्था के होला ? समय धेरै ढिला भइसकेको छ । तर भनिन्छ—“जब जागा, तब सबेरा ।” अब जाग्नैपर्छ । केवल भाषणमा होइन, व्यवहारमा । केवल अरूलाई दोष दिएर होइन, आफ्नै जीवनशैलीबाट परिवर्तन सुरु गरेर । हामीले प्रकृतिमैत्री जीवन, सामूहिक हित र सामाजिक न्यायमा आधारित दरिलो समाजवादी चेतना निर्माण गर्नुपर्छ ।
किनकि विचारले चिन्तन जन्माउँछ, चिन्तनले व्यवहार निर्माण गर्छ, व्यवहारले गति दिन्छ र गतिले घटना घटाउँछ । त्यसैले सही विचार र सही चिन्तन बोकौँ । प्रकृतिलाई जित्ने होइन, प्रकृतिसँगै बाँच्ने बाटो रोजौँ । तब मात्र हाम्रा घटनाहरू सुखद् बन्दै जानेछन्, जीवन समृद्ध र सुखी बन्दै जानेछ । र सायद त्यही दिन हामीले गर्वका साथ भन्न सक्नेछौँ—हाम्रा पुर्खाले छोडेर गएको ज्ञान, विचार र व्यवहारमा फर्किँदै हाम्रो देश फेरि विश्वकै नमुना बन्ने छ ।
लेखका तुलसीपुर उपमहानगरपालिका– १८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता माधव वली हुनुहुन्छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।