तुलसीपुर, ३१ असार । उच्च अदालत तुलसीपुर पुराना मुद्धा फछर्यौटमा तदारुकताका साथ लागेको छ । धेरै पुराना मुद्धालाई लामो समय राख्नु हुँदैन भन्ने उद्देश्यले नयाँ भन्दा पुरानालाई प्राथमिकता दिएर फछर्यौटमा तदारुकताका साथ लागेको अदालतले जनाएको छ । अदालतमा एक वर्षको अवधिमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गरिएको अदालतका रजिष्टार कर्मराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका १४ सय ९९ मुद्धामध्ये १ हजार ८० मुद्धाको फछर्यौट भएको छ । आर्थिक वर्षमा ९ सय ८० नयाँ मुद्धा दर्ता भएका थिए भने ५ सय १९ जिम्मेवारी सरि आएका थिए । अव ४ सय १९ वटा मुद्धा फछर्यौट हुन बाँकी रहेको छ । आज अदालतले आर्थिक वर्ष २०८०/०८१ भरी गरेका गतिविधिको बारेमा संचारकर्मीसँग गरिएको अन्तक्रिया कार्यक्रम मार्फत जानकारी गराउँदै विगतका वर्षहरुको तुलनामा वितेको वर्षमा उल्लेख्य मात्रामा मुद्धाहरुको फछर्यौट गरेको जनाएको हो ।
पछिल्लो समय अदालतमा लागुऔषध, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, सवारी ज्यानका मुद्धाहरुको संख्या धेरै रहेको अदालतका रजिष्टार कर्मराज अधिकारीले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०७९।०८० मा ५० दशमलव ६६ प्रतिशत अर्थात ५ सय ३३ मुद्धा फछर्यौट भएको छ । आर्थिक वर्ष २०७८।०७९ मा ६० दशमलव ८२ प्रतिशत अर्थात ६ सय ४, ०७७/ ०७८ मा ५ सय २० र ०७६/०७७ मा ४ सय ८ मुद्धा फछर्यौट गरेको अदालतको पञ्चवर्षिय तथ्याँकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ज्यान सम्बन्धी १ सय ६२ मुद्धामध्ये १ सय २५ फछर्यौट भएका छन् । यस्तै सम्बन्ध विच्छेदको ४८ मध्य ४१ फछर्यौट, जग्गा खिचोलाका ५० मध्ये २९ फछर्यौट, अंशका ८८ मध्ये ४१ फछर्यौट, अपहरण तथा शरिर बन्धकका ११ मध्ये ८ फछर्यौट, आत्महत्या दुरुत्साहनका १९ मध्ये १७ फछर्यौट, करार सम्बन्धि १२ मध्ये ७ फछर्यौट, घरेलु हिंसाका ४ मध्ये २ मुद्धाको फछर्यौट गरिएको छ ।
यस्तै अदालतमा एक आर्थिक वर्षमा १ सय ५८ नयाँ मुद्धा दर्ता भएकोमा ३० वटा सफल भएका छन् भने १ सय १९ मेलमिलाप हुन नसकी फिर्ता भएका छन् । १ सय ४९ मुद्धा फछर्यौट भएका छन् । अदालतमा पनि मुद्धाको छिनोफानो मेलमिलापको माध्यमबाट हुने गरेको बताउँदै अदालतका रजिष्टार अधिकारीले मेलमिलापको विश्वास गर्ने पक्ष भने कमै मात्रामा रहेको बताउनु भयो । उच्च अदालत तुलसीपुर मातहतमा रहेका अन्य जिल्लाका अदालतमा पनि मुद्धा फछर्यौटको संख्या राम्रै रहेको तथ्याँक अदालतका रजिष्टार अधिकारीले प्रस्तुत गर्नु भएको थियो । उच्च अदालत तुलसीपुर मात्रै होइन जिल्ला अदालत दाङ, रोल्पा, रुकुम, प्युठानका अदालतहरु पनि फछर्यौट गर्नमा तदारुकताका साथ लागेको उहाँले बताउनु भयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।