२०८३ कार्तिक ९ गते आइतवार

न्याय माग्दै गरेका स्वर्गद्वारी गुठी पीडित किसानहरुले पाए अश्रुग्याँस

तुलसीपुर, २० जेठ । न्यायका लागि आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठी पीडित किसान माथि अश्रुग्याँस प्रहार हुँदा घाइते भएका छन् । न्यायका लागि दाङको नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा किसानहरु घाइते भएका हुन् ।

किसानहरुको मोही पूर्जाको अधिकारका लागि दाङका १२ मौजाका गुठी किसानहरु लामो समयदेखि समय समयमा जिल्लादेखि काडमाण्डौँसम्मको आन्दोलन गर्दै आएका छन् । सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयनमा नजाने गरेका कारण यस पटकको आन्दोलनमा दबाबस्वरुप तालाबन्दी गर्ने उद्देश्य सहित आन्दोलनमा उत्रिएको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।

स्वर्गद्वारी गुठीअन्तर्गत दाङमा लमही, घोराही र तुलसीपुरमा गरी १२ मौजा रहेको र उक्त जमिन पुस्तौंदेखि जोतभोग गर्दै आएका तीन हजार घरधुरीका १५ हजार किसानहरुलाई मोही प्रमाण हुँदाहुँदै पनि अधिकार कार्यान्वयन नगरी स्वर्गद्वारी गुठीले आलटाल गरेकै अवस्थामा सर्वोच्च अदालतको २०६२ चैत १४ गतेको उत्प्रेषण मिश्रित परमादेशले सदाका लागि अधिकारबाट बञ्चित गराएको थियो । अदालतले स्वर्गद्वारी आश्रमलाई विशेष प्रकृतिको निजी गुठी नामाकरण गरी जमिन खण्डीकृत नगर्न, नगराउन परमादेश जारी गरेको थियो । खण्डीकृत गर्दा आश्रम नै नचल्ने अवस्था आउनसक्ने अदालतको ठहर समेत रहेको थियो ।

अदालतकै परमादेशका कारण मोही किसान समस्यामा परेको भन्दै किसानहरुले यस्ता समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउनुपर्ने र आफूहरुले न्याय पाउनु पर्ने माग गरिरहेका छन् ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।