तुलसीपुर २४ फागुन । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानूनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताउनु भएको छ । महाशिवरात्री तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गर्ने क्रममा जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले नेपाली सेनाका सकलदर्जालाई सदैव व्यक्ति भन्दा संस्था माथि रहने कुरा स्मरण गराउनुभयो ।
प्रधान सेनापतिले त्यस अवसरमा “संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, हामीसँग उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिंदो विश्वपरिवेश अनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्वपंक्तिबाट आधुनिकीकरण, व्यावसायिकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको” बताउनुभये ।
यस अघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरुका बिच जिम्मेवारी निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्नु भएको थियो । सोही अवसरमा वीरगति प्राप्त सकलदर्जाको सम्मानमा सहिद सलामी अर्पण गरिएको थियो भने छाउनीमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो ।







