तुलसीपुर २३ फागुन । नेपाली सेनाले आफ्नो २६१ औँ वार्षिक उत्सव विविध कार्यक्रम गरेर मनाइरहेको छ । जस अन्तर्गत प्रधान सेनापति ब्यानर प्रतियोगितामा प्रथम हुने श्री हनुमानध्वज गुल्म, युद्धकार्य तथा पेसागत प्रतियोगितामा प्रथम हुने श्री नं.३ वाहिनी र द्वितीय हुने श्री नं.९ वाहिनीलाई सम्मान गरिएको छ नेपाली सेनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उक्त युनिटहरुलाई सम्मान गर्नु भएको हो ।
त्यसैगरी पृतना स्तरको प्रतियोगितामा प्रथम हुने श्री मध्य पूर्वी पृतना र द्वितीय हुने श्री उपत्यका पृतनालाई पनि पुरस्कृत गरिएको छ । सो अवसरमा प्रकृति संरक्षण ट्रफि प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्ग दल गण र खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री सिंहशार्दुल गुल्म पनि पुरस्कृत भएका छन् ।
त्यस अवसरमा प्रधान सेनापतिले सैनिक ड्रिल प्रतियोगिता–२०८० मा प्रथम हुने श्री मध्य पूर्वी पृतना र द्वितीय हुने श्री उपत्यका पृतनालाई पुरस्कार वितरण गर्नुका साथै, सेना दिवस–२०८० को उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्नुहुने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाका साथै, सैनिक श्रीमती संघका पदाधिकारीहरू लगायत गैर सैनिक व्यक्तित्वहरूलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुभएको थिये ।
उक्त समारोहमा प्रधान सेनापतिले मानार्थ उप सेनानी पदमा पदोन्नति हुनु भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । कार्यक्रममा रथी श्री बालानन्द शर्मा (अ.प्रा.) लाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान, गुल्म प्रवन्ध हुद्दा ज्ञानेन्द्र शाह (अ.प्रा.) लाई उत्कृष्ट कृषक सम्मान, प्राविधिक सुवेदार विष्णु गिरी (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान, प्राविधिक सुवेदार राजु सिग्देल (अ.प्रा.) र जमदार श्रीपाल सारु (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उध्दार सम्मान, श्रीमती लिलीहजुर बस्न्यातलाई प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान, हुद्दा गयालाल देवकोटा (अ.प्रा.) तथा श्रीमती उर्मिला बुढाथोकी क्षेत्रीलाई प्रधान सेनापति सफल लघुवित्त उद्यमी पुरस्कार वितरण गर्नुभयो ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस–२०८० फाल्गुण २५ गते महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाइँदै छ । सो कार्यक्रममा नेपाली सेनाका साथै वेलायत, भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरुको समेत साङ्गीतिक प्रस्तुती हुनेछ ।







