२०८३ कार्तिक ९ गते आइतवार

हिउँदे वर्षाले आकाशे पानीको भरमा रहेका कृषकलाई राहत

तुलसीपुर,१८ माघ । आकाशे पानीको भरमा खेती गर्ने किसानलाई आज विहानैदेखि परेको वर्षाले राहत पुगेको छ । लामो समयपछि वर्षा भएपछि कृषकहरू हर्षित भएका छन् । आज परेको पानीले हिउँदे बालीलाई राहत भएको भन्दै दाङका किसानहरु खुशी भएका हुन् । हिउँदे बाली अन्तर्गत विशेष गरी दाङमा लगाइने मसुरो र गहुँलाई राम्रो भएको किसानहरुको भनाइ छ । किसानहरुको अनुसार छिटफुट रुपमा पानी परेपनि कृषकहरुले अपेक्षा गरे अनुसारको हिउँदे वर्षा भने अझै हुन सकेको छैन । यसवर्ष हिउँदे वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका थिए । यसवर्ष मात्रै होइन आकाशे पानीको भरमा खेती गर्ने कृषकहरू हरेक वर्ष हिउँद याममा पानी नपर्दा चिन्तामा रहने गरेका छन् । लामो समय पछि वर्षा हुँदा खुसी लागेको तुलसीपुर उपमहानगरपालिका १० का कालुराम चौधरीले बताउनुभयो । ‘पानी नपरेको धेरै लामो समय भइसकेको थियो, उहाँले भन्नुभयो– ‘खेत बारीमा लगाएको मसुरो, तोरी, गहुँ, जौ, चना लगायतका हिउँदे वाली सुक्ने अवस्थामा थिए, अब पानी परेको छ केही राहत हुन्छ कि भन्ने अपेक्षा गरेको छु ।’

दाङमा ६५ हजार ९ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १२ हजार हेक्टर क्षेत्रफलमा हिउँदे बाली अन्तर्गत गँहु खेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।