२०८३ कार्तिक १० गते सोमवार

सोमबारको वर्षाले हिउँदे बालीलाई राहत भएको भन्दै किसानहरु खुशी

तुलसीपुर, १९ मंसिर । दाङमा सोमबार परेको पानीले हिउँदे बालीलाई राहत भएको भन्दै किसानहरु खुशी भएका छन् । हिउँदे बाली अन्तर्गत विशेष गरी मसुरो र गहुँलाई राम्रो भएको किसानहरुको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका १० का कृषक धर्मराज भण्डारीले सोमबार परेको पानीले हिउँदे बालीलाई धेरै राहत मिलेको बताउनुभयो । यस्तै तुलसीपुर उपमहानगरपालिका १ अविधाराका निम बहादुर केसी पनि हिउँदे बालीलाई राहत मिल्ने भन्दै खुशी लागेको बताउनु भयो । टमाटरको बेर्ना भर्खरै राखेकाले पानी परेपछि त्यसलाई राम्रो हुने भन्दै उनी खुशी हुनु भएको हो । उहाँले व्यवसायिक रुपमा तरकारी खेती गर्ने भएकाले काउली, बन्दागोपी, सिमी बेच्ने भएको भन्दै वर्षाले राहत भएको बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले मौसममा भएको बदलीका कारण हिउँदे बालीलाई फाइदा भएको बताउनु भयो । हिउँदे बाली मसुरो र गहुँलाई धेरै राहत भएको उहाँको भनाई छ । पानी परेपछि टुसारो लाग्ने भएकाले टमाटर र आलुका बोट सुक्ने उहाँले बताउनु भयो । भर्खरै फुल्न थालेको तोरी बालीमा भने असर पुग्ने उहाँको भनाइ छ । साग, काउली, सिमी जस्ता तरकारीमा भुषुना मार्ने विषादीहरु छर्ने र आलु र टमाटरलाई टुसारोबाट जोगाउने विषदी छर्किनु पर्ने बताउनुभयो । मौसमी समस्याबाट बचाउनका लागि सावधानी अपनाउन किसानहरुलाई आग्रह समेत गर्नुभयो । दाङमा ६५ हजार ९ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १२ हजार हेक्टर क्षेत्रफलमा हिउँदे बाली अन्तर्गत गँहु खेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङको तथ्यांकले देखाउँछ । गत वर्ष १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा गरिएको गँहु खेती गरिएको थियो । तर यस वर्ष भने ७ सय ५ हेक्टर अर्थात ५ दशमलव ७ प्रतिशत क्षेत्रफल घट्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यसै गरी जिल्लामा ५ सय ७५ जना व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुकोे तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।